‘बाहुबली’ श्रृंखलाबाट लोकप्रियताको उत्कर्षमा पुगेका साउथ सुपरस्टार प्रभास अभिनीत नयाँ फिल्म ‘आदिपुरुष’ यही जून १६ मा प्रदर्शन हुँदैछ । फिल्ममा उनले भगवान् रामको चरित्र निर्वाह गरेका छन् । यो फिल्म उनले झन्डै दुई वर्ष लगाएर पूरा गरेका हुन् । ‘बाहुबली’को दुईवटा श्रृंखलाका लागि पनि उनले ५ वर्षको समय दिएका थिए । जसले गर्दा उनले धेरै फिल्ममा काम गर्न पाएनन् ।
अब भने उनी वर्षमा २/३ वटा फिल्ममा काम गर्ने योजनामा छन् । बुधबार ‘आदिपुरुष’को नयाँ ट्रेलर सार्वजनिक कार्यक्रममा उनले भने, ‘म बोल्नुभन्दा काममा बढी विश्वास गर्छु । र, दर्शकको साथ मेरो तागत हो । अहिले म आफ्नो रुटिनभन्दा बढी फिल्ममा काम गरिरहेको छु र हरेक वर्ष अब मेरो २/३ वटा फिल्म आउनेछ । म कोशिश गरिरहेको छु कि कसेकम वर्षमा २/३ वटा फिल्म गरुँ ।’
उनी ‘आदिपुरुष’ आफ्नो लागि फिल्मभन्दा बढी रहेको बताउँछन् । ‘मेरो लागि ‘आदिपुरुष’ सिर्फ एक फिल्मभन्दा कयौं ज्यादा हो । म आफू यो फिल्मको हिस्सा बन्न पाएकोमा भाग्यमानी ठान्दछु,’ उनी भन्छन् । हिन्दू महाकाव्य रामायणमा आधारित भएर बनेको फिल्ममा प्रभासका अलावा कृति सेनन, सैफ अली खान, अमिताभ बच्चन, काजोल, सनी सिंह, कीर्ति सुरेशको पनि अभिनय छ ।
फिल्मको ट्रेलर रिलिजभन्दा अगाडि प्रभासले निर्देशक ओम राउतसँग तिरुपति मन्दिरमा पूजाआजा गरेका थिए । उनले तिरुपति मन्दिरमा नै विवाह गर्ने वाचा समेत गरेका छन् । कुनै बेला ‘बाहुबली’ अभिनेत्री अनुष्का सेट्टीसँग उनको प्रेम चर्चा चलेको थियो । अहिले ‘आदिपुरुष’ अभिनेत्री कृति सेननसँग उनको नाम जोडिएको छ । तर, दुवैले अफेयरको चर्चालाई अफवाह बताएका छन् ।