जुनसुकै क्षेत्रमा आफूले गरेको कामको प्रशंसाको रुपमा अवार्डलाई लिइन्छ । अवार्ड प्रतिष्ठाको विषय समेत हो । यसैले अवार्डका लागि संसारमै ठूलो रस्साकस्सी हुने गर्छ । कलाकारलाई त झन् अवार्डको बेग्लै महत्त्व छ । तर, बलिउड अभिनेता नसीरुद्दीन शाह भने अवार्डको कुनै महत्त्व देख्दैनन् । उनले आफूले पाएको अवार्डहरुलाई समेत फार्महाउसको ढोकाको ह्यान्डल बनाएका छन् ।
आफ्नो अभिव्यक्तिका कारण अक्सर विवादमा पर्ने गरेका उनलाई हालै एक अन्तर्वार्तामा सोधिएको थियो, ‘के यो अफवाह सही हो कि तपाईं आफूले पाएको अवार्डको प्रयोग फार्महाउसको ढोकाको ह्यान्डलको रुपमा गर्नुहुन्छ ?’ उनले हाँस्दै यो कुरा स्वीकार गरे । आफूले अवार्ड ट्रफीको कुनै महत्त्व नदेख्ने नसीरुद्दीनको भनाई छ । अवार्डले आफ्नो घर पूरै भरिएको पनि उनले बताएका छन् ।
उनी भन्छन्, ‘जब मैले करिअरको सुरुवात गरेको थिएँ, त्यसबेला अवार्ड पाउँदा खुसी लाग्थ्यो । तर पछि मेरो घरमा ट्रफी मात्र भयो । पछि सम्झिएँ कि यो सबै लबिङको परिणाम हो । कसैलाई यो अवार्ड उसको योग्यताका कारण मिलेको छैन । यसैले मैले अवार्ड दिन नै छाडिदिएँ ।’ राष्ट्रपतिबाट पद्मश्री र पद्म भूषण प्राप्त गर्दा भने आफूले पितालाई सम्झिएको नसीरुद्दीनले स्मरण गरेका छन् ।
खासमा उनलाई प्रतिस्पर्धामा आधारित अवार्ड स्वीकार्य छैन । उनी अवार्डको कन्सेप्टमाथि नै प्रश्न उठाउँदै भन्छन्, ‘कुनै कलाकारले जुन रोल निभाउनका लागि आफ्नो जीवन र एफर्ट लगाएको हुन्छ, त्यो राम्रो कलाकार हो । यदि एउटा कलाकारलाई छानेर वर्षकै उत्कृष्ट घोषित गरिन्छ भने त्यो कसरी सही हुन्छ ? मलाई ती अवार्डहरुप्रति कुनै गर्व छैन । पछिल्लो दुई अवार्ड त म लिनै गइनँ ।’