.jpg)
निर्देशक सौरभ चौधरीको ड्रिम प्रोजेक्ट ‘अगस्त्य : च्याप्टर वान’को छायांकन सुरु भएको छ । सोमबार भारतको गोखरपुर मन्दिरमा क्यामेरा, स्क्रिप्ट र क्ल्याप पूजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो । ६० दिनको सेड्युल राखिएको फिल्मको २५ दिनसम्म गोखरपुरमा नै छायांकन हुने निर्देशक चौधरीले बताए । त्यसपछि नेपालको नवलपरासी, भैरहवा र काठमाडौंमा छायांकन हुनेछ ।
‘अगस्त्य’मा सौगात मल्ल, नाजिर हुसेन र मालिका महत प्रमुख भूमिकामा छन् । फिल्मको चरित्रका लागि सौगातले २० केजी तौल घटाएका छन् भने नाजिरले २० केजी तौल बढाएका छन् । भारतको सेड्युलपछि सौगातले घटाए बराबरको तौल बढाउनुपर्नेछ । त्यसका लागि उनलाई २०/२२ दिनको समय दिइने निर्देशक चौधरी बताउँछन् । फिल्ममा सौगात र नाजिरको एक्सन भूमिका छ ।
दुई श्रृंखलामा बन्न लागेको फिल्ममा प्रमोद अग्रहरी, रविन्द्र झा र विजय बरालको पनि अभिनय रहनेछ । फिल्ममा निर्देशक चौधरी स्वयंको लेखन छ । उनले दुवै च्याप्टरको कथा तयार पारिसकेका छन् । प्रकाश मल्ल र अनिष तामाङ फिल्मका निर्माता हुन् । फिल्मको छायाँकार संजय लामा हुन् । फिल्मको शीर्षक हिन्दू धर्मका सप्तऋषि मध्येका अगस्त्य ऋषिको नामबाट जुराइएको हो ।

