सुपरहिट बलिउड फिल्म ‘मैने प्यार किया’की अभिनेत्री भाग्यश्रीले काठमाडौंका विभिन्न धार्मिक स्थलमा पुगेर पूजाआजा तथा दर्शन गरेकी छन् । शनिबार दिउँसो श्रीमान् हिमालय दसानीसँग एक अवार्ड कार्यक्रममा सहभागिता जनाउनका लागि काठमाडौं आएकी उनले आइतबार बिहान पशुपतिनाथ मन्दिर पुगेर पूजाआजा गरिन् भने त्यसपछि कालभैरव (भैरवस्थान) पुगेर दर्शन गरेकी थिइन् ।
उनले श्रीमानसँग भक्तपुर दरवार स्क्वायर क्षेत्र घुम्दै त्यहाँको मठ-मन्दिरहरुको पनि दर्शन गरेकी छन् । उनले आफ्नो इन्स्टाग्राममा ‘नेपालमा हाम्रो सप्ताहन्तको झलकहरू’ भन्दै मन्दिर दर्शनदेखि पुरी-तरकारीको तस्बिरहरु समेत राखेकी छन् । उनी यसअघि पनि विभिन्न शिलशिलामा केही पटक नेपाल आइसकेकी छन् । नेपाल आउँदा भाग्यश्रीले पशुपतिनाथमा पूजाआजा गरेकै हुन्छिन् ।
शनिबार नेपाल अवतरणपछि उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै सुन्दर देशमा पुनः आउन पाउँदा खुसी लागेको बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘म नेपाल पहिले पनि आएकी थिएँ । सुन्दर देशमा फेरि आउन पाउँदा खुसी लागेको छ । कुनै चाडपर्वमा सपरिवार यहाँ आउने सोच बनाएको छु ।’ कुनै बेला बलिउडमा राम्रो रजगज गरेकी उनको पछिल्लो रिलिज फिल्म ‘छत्रपथी’ हो ।
उमेरले ५३ वर्षकी भाग्यश्री फिटनेस र सुन्दरताका कारण चर्चामा रहने गर्छिन् । उनका एक छोरा र एक छोरी छन् । उनका छोरा अभिमन्यु दसानी समेत अभिनयमा सक्रिय छन् । भाग्यश्रीले आफ्नो करिअरमा ५० बढी बलिउड फिल्ममा काम गरेकी छन् तर उनलाई अझै पनि ‘मैने प्यार किया’बाटै चिन्ने गरिन्छ । बलिउड अभिनेता सलमान खानसँग उनको जोडी सबैभन्दा बढी रुचाइन्छ ।