फिल्म ‘प्रेमगीत ३’ हिन्दीमा डब भएर भारतका हलमा प्रदर्शन भएपछि अहिले नेपाली फिल्म हिन्दीमा डब गर्ने प्रतिस्पर्धा नै चलेको छ । यस्तैमा अब फिल्म ‘परस्त्री’ पनि हिन्दी भाषामा डब भएर भारतमा प्रदर्शन हुँदैछ । आगामी असार १५ गते नेपाल र भारतका हलमा फिल्म एकसाथ लाग्दैछ । यतिबेला भारतको एक स्टुडियोमा फिल्मको हिन्दी डबको पोस्ट प्रोडक्सनको काम भैराखेको छ ।
बिहीबार फिल्मको ‘माया बस्यो तिमीसँग’ बोलको गीत सार्वजनिक गरिएको थियो । यही गीतको हिन्दी भर्सन आइतबार सार्वजनिक भएको छ । बीफोरयू म्यूजिक नामक युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा भारतीय गायक अमित मिश्र र गायिका सोनल प्रधानको आवाज छ । गीतमा नेपाली भर्सनकै संगीत प्रयोग गरिएको छ । हिन्दी भर्सनको शब्द भने विनित त्रिपाठीले लेखेका हुन् ।
नेपाली र हिन्दी भर्सनको शब्द फरक-फरक हुँदा भिडियोमा लिप्सिङको समस्या देखिएको छ । फिल्मका अभिनेता गौरव विष्ट र अभिनेत्री शिल्पा मास्केले नेपाली शब्दमा गरेको लिप्सिङ हिन्दी शब्दमा नमिलेको देखिन्छ । जसका कारण भिडियो हेर्दा आँखा विझाउँछ । गीतको नेपाली शब्दलाई हिन्दीमा ‘ट्रान्सलेट’ गरेर रेकर्ड गरिएको भए धेरै हदसम्म यो समस्या समाधान हुन सक्थ्यो ।
एउटा भाषामा तयार भैसकेको फिल्मलाई अर्को भाषामा डब गर्दा लिप्सिङ र टाइमिङ मिलेको देखाउनु पर्ने सबैभन्दा चुनौतीपूर्ण काम हो । त्यसका लागि भाषा ‘ट्रान्सलेट’ (अनुवाद) गर्दा निकै ध्यान पुर्याउनु पर्ने हुन्छ भने सम्पादनको पनि ठूलो भूमिका रहन्छ । ‘परस्त्री’को हिन्दी भर्सनको गीतमा देखिएको लिप्सिङको समस्या फिल्ममा नदेखिन निर्माण टिमले राम्रै मिहिनेत गर्नुपर्ने देखिन्छ ।