नेपाली फिल्म क्षेत्रमा अभिनेता र अभिनेत्रीको केमेस्ट्रीको सबैभन्दा बढी चर्चा हुन्छ । जसरी अहिले दयाहाङ राई र मिरुना मगरको केमेस्ट्रीलाई लिएर भैरहेको छ । तर, फिल्ममा हिरो-हिरोइनको मात्र होइन, मुख्य पात्रको सहायक पात्रसँग पनि केमेस्ट्री जम्ने गर्छ । दयाहाङ राई र बुद्दि तामाङलाई उदाहरणको रुपमा लिन सकिन्छ । फिल्ममा उनीहरुको केमेस्ट्री जमेको छ । र, जोडी हिट छ ।
रंगमञ्च पृष्ठभूमिका दुवैले पहिलो पटक फिल्म ‘कबड्डी’मा एकसाथ सहकार्य गरेका थिए । यो फिल्ममा उनीहरुको केमेस्ट्री रुचाइयो । यसपछि त उनीहरुले लगातार फिल्ममा काम गर्दै आइरहेका छन् । अचेल दयाहाङको फिल्म बुद्दि बिना अपुरो/अधुरो मानिन्छ । यसको कारण जोडी रुचाइनु नै हो । र, प्रायः फिल्ममा दयाहाङले निभाउने पात्रको ‘ब्याकबोन’को रुपमा बुद्दि देखिने गरेका छन् ।
दयाहाङको फिल्ममा आफू जोडिरहनुको कारण दुवैको साथी सर्कल एउटै भएर पनि हो कि भन्ने बुझाई बुद्दिको छ । ‘हामी दुवैको एउटै साथी सर्कल भएर पो हो कि ! दया दाईले गर्ने क्यारेक्टरमा मैले सपोर्ट गर्न सक्छु भनेर पनि हुनसक्छ । सपोटिङ क्यारेक्टर लोभी भैदिए कथालाई पनि सपोर्ट हुन्छ भनेर म दया दाई भएको फिल्महरुमा फुत्त-फुत्त देखिने गरेको हुनसक्छु,’ उनी सुनाउँछन् ।
उनीहरुलाई एकअर्कासँगको सहकार्य गजबै फापेको देखिन्छ । बुद्दिलाई चाहिँ को कसलाई फापेको जस्तो लाग्छ त ? यसबारेमा उनी रसिलो ढंगमा अर्थपूर्ण जवाफ दिन्छन्, ‘कोही फिल्ममा फाप्छ, कोही फिल्ममा फाप्दैन । यो त फिल्मको राशीफलअनुसार भरपर्ने कुरा रहेछ ।’ दयाहाङ र बुद्दिले एकसाथ अभिनय गरेको नयाँ फिल्म ‘नीरफूल’ यही जेठ २६ गतेबाट प्रदर्शनमा आउँदैछ ।