आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘नम्बरी सुन’को बागमती प्रदेशको राजधानी हेटौंडामा प्रिमियर गरिएको छ । शनिबार बिहान हेटौंडाको ओम्याक्स हलमा गरिएको प्रिमियरमा स्थानीय दर्शकहरुको उल्लेख्य उपस्थिति थियो । फिल्मका प्रस्तुतकर्ता नारायण खातीको हेटौंडा जन्मथलो भएकाले उनले फिल्मको पहिलो प्रदर्शन पनि आफू हुर्किएको शहरमा गरेका हुन् ।
प्रस्तुतकर्ता खातीले आफ्नो जन्मथलोमा फिल्मको प्रिमियर गर्न पाउँदा खुशी लागेको बताए । प्रिमियरमा फिल्मलाई दर्शकहरुबाट सकारात्मक प्रतिक्रिया मिलेको छ । सुनको इतिहास र सुन बनाउने सुनारको पुरानो चलनलाई फिल्ममा देखाइएको छ । निर्देशक राजु गिरीले फिल्ममार्फत् सुन बनाउने सुनारलाई वर्षौं पहिले गाउँका काजीहरुले हेर्ने दृष्टिकोणलाई प्रस्तुत गरिएको बताएका छन् ।
प्रिमियरमा निर्देशक गिरी र प्रस्तुतकर्ता खातीसँगै फिल्मका मुख्य कलाकारद्वय गौरव पहारी र किरण नेपालीको उपस्थिति थियो । चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाका उपाध्यक्ष श्रीराम अर्जुनको अध्यक्षतामा भएको प्रिमियरमा मकवानपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष पवन शाक्य, कलाकार सुशान्त कुमार श्रेष्ठलगायतले फिल्मलाई सफलताको शुभकामना दिएका थिए ।
फिल्ममा गौरव र किरणका साथै नम्रता सापकोटा, सरोज खनाल, गीता अधिकारी, बुद्धि तामाङ, राजाराम पौडेल, नारायण खाती, विनोद न्यौपाने, राजेन्द्र खड्गीलगायको पनि अभिनय छ । फिल्मको निर्मातामा सरोज खाती, सविन खाती र मनोज रिजाल छन् । फिल्ममा रामजी लामिछानेको नृत्य, दिव्य सुवेदीको छांयाकन, देव महर्जनको द्वन्द्व निर्देशन र गौतमराज खड्काको सम्पादन छ ।