अहिलेको समयका सफल अभिनेता हुन्, दयाहाङ राई । गत वर्षकै कुरा गर्ने हो भने सबैभन्दा बढी हिट फिल्म उनले नै दिए । यस वर्षको पहिलो हिट फिल्म (जारी) पनि उनकै भयो । यसरी हेर्दा उनीप्रति दर्शकको ठूलो विश्वास देखिन्छ । लगातार फिल्म सफल भैरहँदा एउटा कलाकारलाई व्यावसायिक सफलताको दबाबले नराम्ररी थिच्न थाल्छ । जुन अहिले दयाहाङको हकमा लागू हुन्छ ।
तर, फिल्महरु सफल भइरहेका कारण दबाब लिनु उचित नहुने उनको तर्क छ । शुक्रबार फिल्म ‘नीरफूल’को विषयमा आयोजित पत्रकार भेटघाटमा उनले भने- ‘दबाब के अर्थमा लिने भन्ने कुरा पनि हो । अघिल्ला फिल्म सफल छन् भनेर दबाब लिनु हुँदैन जस्तो लाग्छ । के कारणले त्यो व्यावसायिक रुपमा सफल भयो भन्ने कुरा सोच्न थाल्ने हो भने चाहिँ दबाब कम/बढी गराउने हुन्छ होला ।’
फिल्मको व्यावसायिक सफलता मान्छेको ‘टेस्ट’मा पनि भरपर्ने उनको बुझाई छ । उनी ‘जारी’को उदाहरण दिँदै भन्छन्, ‘यो फिल्म दर्शकका लागि नयाँ कन्टेन्ट थियो । तर, त्यो समुदायका लागि त ‘रेगुलर’ थियो । मान्छेको टेस्टमा पनि व्यावसायिक कुरा भर पर्छ ।’ उनलाई लाग्छ फिल्मको व्यावसायिक पाटो एउटा हो तर त्योभन्दा महत्त्वपूर्ण कुरा आफ्नो फिल्म कति वर्षसम्म बाँच्छ भन्ने हो ।
‘व्यावसायिक पाटो एउटा हो । तर, आफूले गरेको फिल्म कति वर्षका लागि बन्यो भन्ने कुरा महत्त्वपूर्ण हो । ‘जारी’ २०/२५ वर्षपछि हेर्दा पनि उस्तै ताजा लाग्छ । ‘नीरफूल’ पनि ५०औं वर्षपछि हेर्दा पनि ताजा लाग्छ होला । किनभने हामीले भोगेको समयको कथा हो । फिल्ममा त्यो चिज चाहिँ हुनुपर्छ,’ उनले भने । आफ्नो फिल्मले निर्माताको पैसा फिर्ता गरोस् भन्ने चाहिँ लाग्ने उनी बताउँछन् ।
उनी जुन समुदायबाट प्रतिनिधित्व गर्छन्, नेपाली फिल्मले वर्षौंसम्म त्यो समुदायको कथालाई उठाउनै चाहेन । वा भनौं, मुलधारको विषय नै मानेन । तर, केही वर्षयता दयाहाङले प्रतिनिधित्व गर्ने समुदायकै कथाहरु फिल्ममा बढी भनिन थालिएको छ र रुचाउन थालिएका छन् । फरक कथाले नेपाली फिल्मलाई फराकिलो बनाउने उनको धारणा छ । यो निकै आवश्यक पनि देख्छन् उनी ।
‘समुदायको कथा भनिनुपर्छ । हामीले काठमाडौं बसेर देख्ने चिज मात्रै हाम्रो भोगाइ, समाज र देश होइन । मैले बाँच्ने र सोच्ने तरिका र अरुले बाँच्ने र सोच्ने तरिका नै फरक छ । विश्वासका कारणले हामी सबैको आ-आफ्नै सोचाइ र भोगाइ छ । र, बाँच्ने तरिका पनि फरक हुन्छ । त्यो हुने वितिक्कै कथा र जीवन नै फरक हुन्छ । यो चिज नआएपछि न समस्या भएको हो,’ दयाहाङको ठम्याइ छ ।
फरक-फरक कथा नभनिँदा नेपाली फिल्म फराकिलो हुन नपाएको उनको बुझाई छ । ‘फरक कथा भन्न हामीमा ‘प्राक्टिस’ नै भएन । हामी ‘प्राक्टिस’ गर्न डराएको हो,’ उनी भन्छन्, ‘अहिले ‘प्राक्टिस’ भैरहेको छ । र, यो हुनु जरुरी छ ।’ दयाहाङ ‘नीरफूल’लाई आफ्नो करिअरको एउटा राम्रो फिल्मको रुपमा लिन्छन् । र, फिल्मको कथामा आम दर्शकले आफूलाई पाउने उनको विश्वास छ ।