यस वर्षको बैशाख १५ गते प्रदर्शन भएको फिल्म ‘कैदीको पत्र’का निर्देशक सनम कुमार बैरागले लण्डनबाट नयाँ फिल्मको घोषणा गरेका छन् । बिहीबार उनले एक समारोहका बीच फिल्म ‘सिद्धार्थ’को औपचारिक घोषणा गरेका हुन् । बेलायतमा २० प्रतिशत र बाँकी नेपालमा छायांकन हुने फिल्ममा विजय लामा, पृथ्वीराज केसी र बिभिया श्रेष्ठ प्रमुख भूमिकामा अनुबन्धित भैसकेका छन् ।
भिजन संसार र स्रित फिल्म एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्मको घोषणाको लागि नेपालबाट निर्माताद्वय श्रीदेव बिएल र शारदा खड्का अर्याल बेलायत पुगेका थिए । फिल्ममा नेपालबाट श्रीदेव र शारदासँगै दिनेश केसी र यूकेबाट दिल घले र नबिन थापा निर्मातामा छन् । सन् २०२४ मा छायांकनमा जाने फिल्मका लागि अन्य कलाकार चाँडै छनोट गरिने निर्देशक बैरागले बताए ।
फिल्मको घोषणा कार्यक्रममा यती नेपाली एशोशियसका पूर्व अध्यक्ष उमेशराज मोक्तान, निर्माता तथा निर्देशक डा. कपिल रिजाल, निर्माता निकेश लिम्बु, पूर्व काउन्सिलर भगवान दाश चौहान, प्राध्यापक रुपक श्रेष्ठका साथै गायक सपन कुमार राई, ज्ञानेन्द्र रावत, अनिल लामिछाने, नृत्यकार सुरेश श्रेष्ठ, गोपाल बस्नेत, मिसेज युके नेपालका टाईटल होलडरहरुको समेत उपस्थिति रहेको थियो ।