मिति : २०८२ ज्येष्ठ २७, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

४ वर्षपछि फिल्मको सुटिङमा फर्किइन् नम्रता

फिल्मीखबर, काठमाडौं, 2023/06/02

Namrata Shrestha

 

अभिनयमा पारंगत मानिने अभिनेत्री नम्रता श्रेष्ठ करिब चार वर्षदेखि पर्दामा देखिएकी छैनन् । पछिल्लो पटक २०७६ सालमा उनी अभिनीत फिल्म ‘जाइरा’ रिलिज भएको थियो । त्यसपछि उनले केही फिल्म त सम्झौता गरिन् तर काम गरिनन् । फिल्म ‘प्रसाद २’ अनेक लफडाले सुटिङमा गएर पनि रोकिएपछि उनले फिल्म नै छाडिन् । पछि उनको ठाउँमा केकी अधिकारीले अभिनय गरिन् ।

उनले ‘प्रसाद २’ छाड्नुको एउटा कारण फिल्म ‘ह्यासट्याग माया’ (घोषणा बेलाको नाम ‘ग्रहण’) पनि थियो । उनले सेड्युल जुधेको भन्दै ‘प्रसाद २’ छाडेकी थिइन् । तर, ‘ह्यासट्याग माया’ पनि कलाकारदेखि स्क्रिप्टसम्म परिवर्तन हुँदा छायांकनमा निस्कन सकेको थिएन । शुक्रबारबाट फिल्मको छायांकन बर्दियामा सुरु भएको छ । योसँगै नम्रता ४ वर्षपछि फिल्मको सुटिङमा फर्किएकी छन् ।

४५ दिनको सेड्युल राखिएको फिल्ममा नम्रता योग प्रशिक्षकको भूमिकामा छिन् । थ्रिलर जनरामा निर्माण हुने फिल्ममा सारूक ताम्राकार, रोयदीप श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सीकेलगायतको पनि अभिनय रहनेछ । राजीव गुरुङले निर्देशनको जिम्मेवारी सम्हालेको फिल्मको कार्यकारी निर्मातामा अनुप पौडेल छन् । फिल्ममा निर्देशक गुरुङ र आशुतोष श्रेष्ठको लेखन छ ।

लभर गर्लदेखि एक्सन भूमिकासम्म निभाइसकेकी नम्रता हरेक खालको चरित्रमा आफूलाई ढाल्न सिपालु छिन् । चरित्र निर्माणमा पनि उनले पर्याप्त मिहिनेत गर्छिन् । यसैले त फिल्ममा उनको माग र पारिश्रमिक दुवै उच्च छ । तर, उनी आफूलाई स्क्रिप्ट, चरित्र र टिम चित्त बुझेपछि मात्र फिल्म गर्छिन् । सम्भवतः उनले ‘ह्यासट्याग माया’ प्रदर्शनभन्दा अघि अर्को फिल्ममा हात हाल्ने छैनन् ।