कोरोना महामारी नफैलिएको भए फूलमान बल निर्देशित फिल्म ‘नीरफूल’ २०७६ सालमा नै प्रदर्शन भैसकेको हुने थियो । फिल्म चैत ७ गते प्रदर्शनमा आउँदै थियो । सरकारले महामारी नियन्त्रणका लागि चैत ५ गते नै देशभरका हलहरु बन्द गर्ने निर्णय गर्यो । जसले गर्दा प्रचार-प्रचार गरिसकेर पनि फिल्म प्रदर्शनमा आउन सकेन । कोरोनाको पहिलो गाँसमा परेको यो फिल्म अब यही जेठ २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।
लामो समय पत्रकारिता गरेर निर्देशनमा होमिएका फूलमान फराकिलो आयामबाट समाजको कथा भन्न फिल्म निर्देशनमा होमिएको बताउँछन् । ‘नाटक दुई/चारवटा लेखियो । किताब र कविता पनि लेखियो । पत्रकारिता गरियो । यो सबैले आफूलाई अभिव्यक्त गर्ने रहेछ,’ उनी भन्छन्, ‘अझ फराकिलो आयामबाट र अझ ‘क्रिएटिभ’ हिसाबमा कथा भन्ने एउटा सशक्त ‘आर्टको फम’ फिल्म हो । र, यसको माध्यमबाट केही कुरा भनौं भन्ने सोचले निर्देशनमा प्रवेश गरेको हुँ ।’
उनलाई लाग्छ फिल्म रिलिज भएपछि निर्देशकको दृष्टिकोण मर्छ र दर्शकको दृष्टिकोण जन्मन्छ । ‘निर्देशकको काम आफैं बोल्नुपर्छ भन्ने मान्यता छ । काम बोलिसकेपछि धारणा दर्शकहरुले बनाउने हो । भनिन्छ नि, पुस्तक बजारमा गइसकेपछि लेखक मर्छ । उसको दृष्टिकोण मर्छ । त्यसपछि पाठकहरुको दृष्टिकोण ‘क्रिएट’ हुन्छ भनेजस्तै फिल्म रिलिज भएपछि निर्देशकको पनि दृष्टिकोण मर्छ । त्यसपछिको दृष्टिकोण दर्शक र समालोचकको हो,’ उनको बुझाई छ ।
ट्रेलर हेर्दा फिल्मको कथा भूँइचालोमा केन्द्रित देखिन्छ । तर, निर्देशक बल फिल्ममा भूँइचालो भए पनि कथा अर्कै रहेको स्पष्ट पार्छन् । ‘फिल्ममा परिवार हराएको कथा छ । परिवारको प्रेम, पीडा र संवेदना छ । खासमा फिल्म ‘आइडेन्टिट क्राइसिस भर्सेस करप्टेड सिस्टम’मा बनेको छ,’ उनले प्रष्ट्याए । अहिलेको समयमा निर्देशकले ‘आर्टको फम’बाट भन्नुपर्ने कुराहरु धेरै रहेको र तीमध्ये ‘नीरफूल’ले अलिकति भन्ने कोसिस गरेको उनको भनाई छ ।
फूलमान बल अहिले नेपाल टेलिभिजनको महाप्रवन्धक छन् । ‘नीरफूल’ बनाउने बेला उनी सिर्फ पत्रकार थिए । पत्रकारिताको माध्यमबाट राज्यलाई प्रश्न गर्थे । फिल्म रिलिज हुने बेला उनी राज्यको महत्त्वपूर्ण जिम्मेवारीमा छन् । र, उनीद्वारा निर्देशित फिल्मले राज्य व्यवस्थामाथि प्रश्न गरेको छ । यहाँ एउटा प्रश्न स्वभाविक रुपमा उठ्छ, ‘राज्यको जिम्मेवार पदमा पुगेको व्यक्तिले फिल्मको माध्यमबाट राज्यलाई नै प्रश्न गर्न छुट दिन्छ ?’
यसबारेमा उनको प्रष्टीकरण छ, ‘जुन बेला मैले फिल्म बनाएँ, त्यो बेला म सिस्टम बाहिर थिएँ । म ‘एन्टी करेन्ट’ कन्टेन्ट लेख्नुपर्ने पत्रकारिताको पेशामा थिएँ । फिल्म रिलिज हुँदै गर्दा म सिस्टमभित्र छु । मैले व्यक्तिगत हिसाबले यी कुरा भन्न मिल्दैन तर ‘क्रिएसन’को हिसाबमा भन्न मिल्छ । आज म जुन हिसाबमा सरकारको प्रतिनिधित्व गर्छु, त्यो हिसाबमा मैले भन्न नमिल्ने होला । तर, ‘क्रिएसन’ भनेको त्योभन्दा परको कुरा हो ।’