एक समयका सफल अभिनेता विजय लामा अहिले विमान चालकको रुपमा बढी परिचित छन् । आफ्नै पिताको निर्देशनमा बनेको फिल्म ‘आदर्श नारी’बाट अभिनय करिअर सुरु गरेका उनले एक सय बढी फिल्ममा अभिनय गरिसकेका छन् । उनी केही वर्ष भने अभिनयमा निस्क्रिय रहे । जब उनको भेट निर्देशक मिलन चाम्ससँग भयो, त्यसपछि निरन्तर फिल्ममा काम गर्दै आइरहेका छन् ।
उनले गएको चार/पाँच वर्षमा जति पनि फिल्ममा काम गरे, प्रायः निर्देशक चाम्ससँगका छन् । चाम्सले पनि आफ्नो हरेक फिल्ममा उनलाई छुटाउँदैनन् । यसैले निर्देशक चाम्सको ‘क्याम्प’बाट उनी बाहिर निस्कन नसकेको टिप्पणी हुने गर्छ । बुधबार आयोजित एक कार्यक्रममा पत्रकारले यसबारेमा सोधेको प्रश्नमा उनले मिलन चाम्स फिल्म जगतको आफ्नो एउटा घर रहेको प्रतिक्रिया दिए ।
‘मिलन चाम्स मेरो चलचित्र जगतको घर हो । मैले बेलायतमा ‘एभरेष्ट’ फिल्मको छायांकन गरिरहेको बेलामा मेरो सेड्युल मिलाएर मिलन भाईले यूकेमा भएको ‘हँसिया’ फिल्मको रेड कार्पेटमा मान-सम्मान गरेर लैजानु भएको थियो,’ उनले भने, ‘मिलन चाम्स मेरो लागि चलचित्र जगतको एउटा प्रमुख घर हो भने अहिले अर्को घर (अन्तिम संस्कारका निर्देशक प्रदीप शाही) पनि थपिएको छ ।’
२०७७ सालमा निर्देशक चाम्सको फिल्म ‘गोर्खा वारियर’को घोषणा कार्यक्रममा उनले नेपाली फिल्म क्षेत्रका व्यक्तिहरुले आफूलाई विर्सिसकेको समयमा मिलन चाम्सले ‘हँसिया’ फिल्मको प्रिमियरमा बोलाएको स्मरण गरेका थिए । एक समय फिल्म क्षेत्रमा गुट र खेमाहरु एकआपसमा भिडेको देख्दा कलाकारितामा अब चाहिँ पुग्यो भन्ने सोचाइ समेत आएको कलाकार लामाले बताएका थिए ।