नेपाली फिल्मबीच भिडन्त नौलो होइन । यो त एउटा परम्परा जस्तै भैसकेको छ । विदेशी फिल्मदेखि भाग्ने तर स्वदेशी फिल्मसँग भिड्न बाघको मुटु देखाउने प्रवृत्ति नेपाली निर्माताहरुमा छ । प्रायः हरेक हप्ता एकभन्दा बढी फिल्मबीच बक्स अफिसमा प्रतिस्पर्धा हुँदै आएको छ । आगामी भदौ २९ गते पनि विशाल भिडन्तको सम्भावना देखिएको छ, यदि कसैले खुट्टा नकमाएको अवस्थामा ।
यो मिति किन पनि निर्माताहरुको रोजाईमा परिरहेको छ भने असोज १ गते हरितालिका तीज र असोज ३ गते संविधान दिवसको सार्वजनिक विदा छ । शनिबारको विदा त छँदैछ । एउटै हप्तामा तीन दिन विदा भएपछि निर्माता लोभिनु स्वभाविक हो । ठूलो चाडको विदामा फिल्मको व्यापार राम्रो हुन्छ भन्ने विश्वास निर्माताहरुमा छ । हुन पनि सार्वजनिक विदा धेरै फिल्मलाई फापेको छ ।
तीज र संविधान दिवसको विदालाई मध्यनजर गर्दै भदौ २९ मा फिल्मको प्रदर्शन मिति घोषणा गर्न यतिबेला हानाथाप चलिरहेको छ । सबैभन्दा पहिला यो मितिमा आउने तयारी फिल्म ‘ऐँचो पैँचो’ले गरेको थियो । तर, औपचारिक घोषणा फिल्म ‘नाङ्गो गाउँ’ले गर्यो । यसपछि फिल्म ‘भगवत् गीता’ले यो मिति रोज्यो । अब फिल्म ‘द सेक्रेट्स अफ राधा’लाई पनि यही मितिमा पुनः रिलिज गरिँदैछ ।
अहिलेसम्म फिल्म ‘ऐँचो पैँचो’ले भदौ २९ गतेलाई आधिकारिक रुपमा प्रदर्शन मिति घोषणा गरिसकेको छैन । यसैले अब यो फिल्म पोस्टपोन्ड हुनसक्ने विश्लेषण गरिएको छ । निर्देशक कृषा चौलागाईं पनि नेपाली फिल्मसँग भिड्ने मनस्थितिमा देखिएकी छैनन् । वितरकहरुसँग सल्लाह भैरहेकाले केही दिनमा फर्स्टलुक पोस्टरमार्फत् फिल्मको प्रदर्शन मिति घोषणा गरिने उनले बताएकी छन् ।
उनी भन्छिन्, ‘अहिले वितरकहरुसँग छलफलमा छु । नेपाली फिल्मसँगै भिड्नुभन्दा एक हप्ता पछि आउने कि भन्ने सोचमा पनि छु । केही दिनमा पोस्टरमार्फत् फिल्मको प्रदर्शन मिति घोषणा गर्नेछौं । फिल्म भदौ २९ गते नै पनि आउन सक्छ वा अर्को मितिमा पनि प्रदर्शन हुनसक्छ ।’ ‘ऐँचो पैँचो’मा स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुषाल, शुशिल सिटौलाको मुख्य भूमिका रहेको छ ।