बलीवुडमा यतिबेला अभिनेत्री अदा शर्मा अभिनीत फिल्म ‘द केरल स्टोरी’को चर्चा छ । २८ करोडको लागतमा निर्माण भएको यो फिल्मले भारतीय बक्स अफिसमा २ सय करोड बढीको कमाई गरिसकेको छ । उता एक मलयालम फिल्मले पनि बक्स अफिसमा धूम मच्चाइरहेको छ । हिट भैसकेको फिल्म ‘२०१८ : एभ्रि वान इज अ हिरो’ले कमाईमा मलीवुड इन्डस्ट्रीमा इतिहास रचेको छ ।
टोविनो थोमस स्टारर यो फिल्म मात्र २० करोडमा बनेको हो । र, फिल्मले लगानीभन्दा कयौं गुना बढीको कमाई गरिसकेको छ । फिल्मको विश्वव्यापी कमाई १ सय ६० करोड पुुगिसकेको छ, त्यो पनि सिर्फ २५ दिनमा । मलयालम फिल्मका लागि यो ठूलो अंक हो । सबैभन्दा चाँडो सय करोड कमाउने फिल्मको रेकर्ड बनाएको ‘२०१८’ले १८ दिनमा १ सय ४० करोडको कमाई गरेको थियो ।
केरलामा आएको भीषण बाढीको कथामा आधारित यस फिल्मलाई जूड एन्थनी जोसफले निर्देशन गरेका हुन् । टोविनोका अलावा कुनचाको बोबन, आसिफ अली, विनीत श्रीनिवासन र अपर्णा बालमुरलीको पनि फिल्ममा मुख्य भूमिका छ । मलयालम भाषामा फिल्मको सफलतापछि यसलाई हिन्दी भाषामा समेत प्रदर्शन गरिएको छ । तर, हिन्दी भाषामा फिल्मको कमाई खासै राम्रो छैन ।
वर्ष २०१८ मा केरलमा भीषण बाढी आएको थियो । त्यसबाट ४५० जनाले ज्यान गुमाएका थिए भने हजारौं बेघर भएका थिए । सन् १९२४ भन्दा पछि केरलमा त्यति विशाल बाढी आएको थिएन । फिल्मले त्यही बेलाको कथा भनेको छ । सीमित हलबाट रिलिज थालेको फिल्म बलियो ‘वर्ड अफ माउथ’का कारण हिट भएको हो । यसै हप्ताबाट फिल्मलाई नेपालमा पनि प्रदर्शन गरिएको छ ।