मिति : २०८२ ज्येष्ठ २८, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

निश्चल बस्नेत ‘ब्याक इन एक्सन’

फिल्मीखबर, काठमाडौं, 2023/05/30

nischal basnet

 

एउटै शैलीको कथावाचनमा बाँचिरहेको नेपाली फिल्मलाई निर्देशक निश्चल बस्नेतले फिल्म ‘लुट’मार्फत नयाँ बाटो देखाएका थिए । बलिउड फर्मुलाबाट ग्रस्त नेपाली फिल्मको परम्परागत कथ्य संरचना र शैलीको मानक भत्याएको यो फिल्म व्यापारमा समेत ‘ट्रेन्ड सेटर’ बन्यो । नेपाली फिल्मप्रति युवापुस्तालाई आकर्षित गर्ने र विदेशमा बजार विस्तार गर्ने फिल्मको श्रेय पनि ‘लुट’लाई नै जान्छ ।

यही नाम भजाएर निर्देशक बस्नेतले २०१७ मा ‘लुट २’ बनाए । तर, यसपटक उनी चिप्लिए । त्यति ठूलो लिगेसी बोकेको फिल्मको सिक्वेल कमसल निस्कियो । ‘लुट’बाट वाहवाही कमाएका निश्चल आलोचनाको पात्र बने । यसपछि उनी फिल्म निर्देशनबाटै टाढा बसे । बीचमा उनले निर्देशनमा फर्किन केही स्क्रिप्टमा काम त गरेका थिए तर, ‘लुट २’मा भएको कमजोरीले उनलाई तर्साइरह्यो ।

अन्ततः ६ वर्षको अन्तरालपछि निश्चल फिल्म निर्देशनमा फर्किएका छन् । उनले एक हप्तादेखि काभ्रेमा फिल्म ‘दिमाग खराब’को छायांकन गरिरहेका छन् । मंगलबार इन्स्टाग्राममा उनले मोनिटरको अगाडि बसेर एक्सन-कट गरिरहेको एउटा तस्विर सेअर गर्दै ‘ब्याक इन एक्सन’ भनेर उल्लेख गरेका छन् । कमब्याक फिल्मलाई लिएर निर्देशनमा उनको गम्भीरता तस्विरमा स्पष्ट झल्किन्छ ।

निश्चललाई ‘दिमाग खराब’ अब्बल बनाउनु पर्ने चुनौती छ । किनकि, उनीप्रति अपेक्षा धेरै छ । त्यसमाथि ६ वर्षपछिको कमब्याक भएकाले उनले केही नयाँ चिज लिएर आउँदैछन् भन्ने आशा फिल्मकर्मी र दर्शकलाई छ । ‘लुट’को लिगेसीले पनि उनलाई कमजोर हुन छुट दिँदैन । चुनौती र दबाबको भारी बोकेर निर्देशनमा पुनरागमन गरेका निश्चलका लागि ‘दिमाग खराब’ अग्नि परीक्षा हो ।