मिति : २०८२ ज्येष्ठ २८, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.25/5.00)
Text size:-
+
-

५१औं दिनको मुखमा ‘जारी’

फिल्मीखबर, काठमाडौं, 2023/05/30

एक हप्तामा 'जारी'ले कति कमायो ?

 

नेपाली फिल्म क्षेत्रका लागि यस वर्षको सुरुवात सुखद रह्यो । बैशाख १ गते प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘जारी’ले ‘सरप्राइज’ कमाई गर्‍यो । प्रदर्शनको पहिलो दिनदेखि नै फिल्मले आक्रामक कमाईलाई जारी राखेको थियो । बलियो ‘वर्ड अफ माउथ’को बलमा फिल्म लामो रेसको घोडा बनेको छ । तीन हप्तामा १५ करोड कमाएको फिल्मले ५१औं दिने यात्रा पनि पूरा गर्ने भएको छ ।

यही शनिबार (जेठ २० गते) ‘जारी’ले प्रदर्शनको ५१औं दिन पूरा गर्नेछ । क्यूएफएक्स चेन, बिग मुभिज, वान् सिनेमाज्, बिएसआर मुभिज, आइएनआइ सिनेमाज्, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्सलगायतका मल्टीप्लेक्सहरुमा फिल्म अझै प्रदर्शनरत छ भने एक दर्जन ज्यादा सिंगल थिएटरमा पनि टिकिरहेको छ । ५१औं दिनको मुखमा समेत हलमा फिल्म हेर्ने दर्शकको चाप सुखद छ ।

प्रदर्शनको ५१औं दिनलाई फिल्म सफलताको मानक मानिन्छ । एनलग (रिल)को जमानामा यसलाई सामान्य मानिने गरिएको भए पनि अचेल सुपरहिट फिल्मले समेत यो अवधिसम्म हलमा टिक्नका लागि ठूलो संघर्ष गर्नुपर्छ । अघिल्लो वर्ष ‘कबड्डी ४’, ‘महापुरुष’ र ‘छक्का पञ्जा ४’ले मात्र यो सफलता प्राप्त गरेका थिए । र, यस वर्षको पहिलो ५१औं दिन मनाउने फिल्म ‘जारी’ बन्ने भएको छ ।

बक्सअफिसमा १७ करोड आसपास कमाई गरेको फिल्मलाई उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन् । लिम्बू समुदायमा विद्यमान जारी प्रथालाई मियो बनाएर प्रेमकथा प्रस्तुत गरिएको फिल्ममा दयाहाङ राई, मिरुना मगर, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापो, पन्थक ठुलेको अभिनय रहेको छ ।