
गत वर्षको भदौ १० गते प्रदर्शनमा आएको फिल्म ‘द सेक्रेट्स अफ राधा’लाई चार दिनमै निर्माताले हलबाट उतारेका थिए । हलले शोज बाँडफाँडमा अन्याय गरेको भन्दै फिल्मको प्रदर्शन स्थगित गरिएको थियो । त्यही बेला निर्माता तथा निर्देशक सुवर्ण थापाले अनुकूल समय हेरेर फिल्मलाई पुनः रिलिज गरिने बताएका थिए । अब आगामी भदौ २९ गते फिल्म पुनः प्रदर्शन हुने भएको छ ।
यो मितिलाई यसअघि नै दुई फिल्म ‘नाङ्गो गाउँ’ र ‘भगवत् गीता’ले ‘रिजर्भ’ गरिसकेका छन् । यही मितिमा फिल्म ‘ऐँचो पैँचो’ पनि प्रदर्शनमा आउने सम्भावना छ । अब ‘राधा’ पनि थपिएपछि भदौ २९ गते नेपाली फिल्मबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ । फिल्म प्रदर्शनका लागि निर्माताहरुको रोजाइमा यही मिति पर्नुको कारण असोज १ गते तीज र असोज ३ गते संविधान दिवसको विदा हो ।
सृष्टि श्रेष्ठमा केन्द्रित ‘राधा’मा सौगात मल्ल, दयाहाङ राई, मेनुका प्रधान, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, बुद्धि तामाङ, दिव्य देव, पुस्कर गुरुङ, पशुपति राई, लोकेन्द्र लेखक, राजन खतिवडालगायतको पनि अभिनय रहेको छ । फिल्ममा बरिष्ठ रंगकर्मी सुनिल पोखरेल अतिथी भूमिकामा प्रस्तुत छन् । फिल्मलाई हलबाट उतारेपछि विदेशका विभिन्न ठाउँमा निरन्तर शोहरु हुँदै आएको छ ।
आदियोगी भिजन, महारानी इन्टरटेन्मेन्ट युके, मन्डला अनलाइन र एएमआइ फिल्मस्को प्रस्तुति र मन प्रोडक्सनको एसोसिएनमा निर्माण र बिरजना इन्टरटेनमेन्ट तथा बिक्रमदास जोशी सह-निर्माता रहेको फिल्ममा सुवर्णको कथा, नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत छ । निर्देशक थापाले ‘राधा’ आफ्नी आमाको सम्झनामा बनाएका हुन् ।

