Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.50/5.00)
Text size:-
+
-

उत्रिसकेको हलमा फर्कियो ‘हल्कारा’

फिल्मीखबर, काठमाडौं, 2023/05/29

चिठीको जमानाको कथा भन्ने 'हल्कारा' हलमा

 

गत बैशाख २९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘हल्कारा’ले उम्दा प्रतिक्रियाका बावजूद दर्शकको राम्रो साथ पाउन सकेन । दोस्रो हप्ताबाट प्रायः मल्टीप्लेक्सहरुले फिल्मलाई उतारेका थिए । तर, सुन्धारास्थित सिडिसी सिनेमामा भने फिल्मले एक शो पाइरहेको थियो । दोस्रो हप्तामा एउटा मात्र हलमा चलेको फिल्मलाई तेश्रो हप्तादेखि सिडिसी सिनेमाले नै एक शो थपेर दुई शो बनाएको छ ।

त्यस्तै, गणतन्त्र दिवसको दिनदेखि जमलस्थित विश्वज्योती हलले फिल्मलाई पुनः रिलिज गरेको छ । सोमबारदेखि विश्वज्योती हलमा साँझ ६ बजेको शो राखिएको छ । विश्वज्योती हलका म्यानेजर रविन पौडेलले दर्शकहरुबाट धेरै सोधपुछ हुन थालेपछि शो राखेको बताए । सोमबार सानो हलमा राखिएको शो हाउसफुल भैसकेको र मंगलबारदेखि ठूलो हलमा शो राखिने उनले जानकारी दिए ।

फिल्मका निर्देशक विक्रम सापकोटाले ढिलै भएपनि दर्शकको रोजाईमा परेकोमा खुशी व्यक्त गरे । उनले भने, ‘मैले सोचेको थिएँ कि प्रतिक्रियाका आधारमा पहिलो हप्ता नै दर्शकहरुको चाप बढ्नेछ, दुर्भाग्यवश त्यसो हुन सकेन । तेश्रो हप्तामा आईपुग्दा भने नसोचेको भैरहेको छ ।’ अभिनेता महेश त्रिपाठीले ढिलै गरी भएपनि फिल्मप्रति दर्शकहरुको चासो बढेकोमा खुसी लागेको बताए ।

फिल्मका लेखक तथा सम्पादक निर्देशक सापकोटा स्वयं हुन् । फिल्ममा बिनिता थापा मगर, शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, स्वर्गीय दीपक क्षेत्रीलगायतको पनि अभिनय रहेको छ । कालीपार स्टुडियो निर्माण र आइसफल प्रोडक्सनको सहकार्यमा बनेको फिल्ममा महेशले हुलाकीको भूमिका निर्वाह गरेका छन् ।