
प्रदर्शनभन्दा अगाडिदेखि नै ठूलो विवादमा घेरिएको फिल्म ‘द केरला स्टोरी’ले बक्सअफिसमा भने जबर्जस्त कमाई गरिरहेको छ । भारतीय बक्सअफिसमै २ सय करोडभन्दा बढीको कमाई गरिसकेको फिल्मको कथावस्तुलाई लिएर दर्शकदेखि फिल्म स्टारसम्म दुई खेमामा बाँडिएका छन् । एकथरीले फिल्मले उठाएको विषयको खुलेर समर्थन गरेका छन् त अर्काथरीले विरोध जनाएका छन् ।
साउथ अभिनेता कमल हासनले भने ‘द केरला स्टोरी’लाई प्रोपागाण्डा फिल्मको संज्ञा दिएका छन् । आईफा अवार्डमा सहभागी हुने क्रममा उनले प्रतिक्रिया दिँदै भने, ‘ट्यागलाइन (सत्य घटना) राखेको भरमा त्यसलाई वास्तविक कहानी भन्न मिल्दैन । त्यो वास्तवमै सत्य हुनुपर्छ र यो फिल्म सत्य होइन । म प्रोपागाण्डा फिल्मको विरोधमा छु । देशका मानिसलाई तोड्ने फिल्म मलाई मन पर्दैन ।’
‘अल टाइम ब्लकबस्टर’ बनेको ‘द केरला स्टोरी’मा यस्ता तीन युवतीको कथालाई देखाइएको छ, जसलाई धर्म बदल्न बाध्य बनाएर आतंकवादी संगठन (आईएसआईएस)मा भर्ती गराइन्छ । फिल्मलाई सत्य घटनामा आधारित भनिएको छ । सुदीप्तो सेनको लेखन तथा निर्देशन रहेको फिल्ममा अदा शर्माले उम्दा अभिनय गरेकी छन् । फिल्मले इस्लाम (मुश्लिम) धर्ममाथि ठूलो प्रहार गरेको छ ।

