मिति : २०८२ ज्येष्ठ २९, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपाली फिल्मले युट्युबमा भन्दा राम्रो कमाई सिनेमाघर एपमा गर्दैछ : सागर खरेल

फिल्मीखबर, काठमाडौं, 2023/05/28

विश्वमै हलको विकल्पको रुपमा ओटीटी प्लेटफर्मलाई लिन थालिएको छ । कोरोना महामारीपछि त दर्शकहरुको यसतर्फ आकर्षण बढ्दो छ । नेटफ्लिक्स, प्राइम भिडियो, डिज्नी प्लस, हुलु जस्ता ओटीटी प्लेटफर्ममा विश्वकै ठूला फिल्महरु रिलिज भैरहेका छन् । कति फिल्महरु त हलमा नभइ सिधै ओटीटीमा रिलिज हुने गरेका छन् । आम्दानीका लागि ओटीटी बलियो माध्यम बनिरहेको छ ।

 

sagar kharel

(सिनेमाघर एपका सीइओ सागर खरेल)

 

नेपालमा पनि ओटीटीको अभाव छैन । तर, जुन हिसाबले फड्को मार्नुपर्थ्यो, त्यो भएको छैन । ओटीटीहरु बासी कन्टेन्टमै सीमित हुनु पनि यसको प्रमुख कारण हो । तथापि, सिनेमाघर एपले भने केही आशा जगाएको छ । फिल्म ‘कबड्डी ४’ रिलिज भएपछि यो एप लोकप्रिय मात्र बनेको छैन, अब ओटीटी प्लेटफर्म नेपाली फिल्मका लागि कमाईको बलियो स्रोत बन्न सक्छ भन्ने देखाएको छ ।

गत कात्तिक २५ गते ‘कबड्डी ४’ सिनेमाघर एपमा रिलिज भएको थियो । रिलिजकै दिन दर्शकको सर्वाधिक ‘फ्लो’का कारण एपको सर्भर नै ‘डाउन’ भयो । एपमा फिल्मलाई झन्डै २ लाखले हेरिसकेका छन् । एपका सीइओ सागर खरेल भन्छन्, ‘विभिन्न कारणले कलेक्सन चाहिँ सार्वजनिक गर्न मिल्दैन । तर, युट्युबबाट आउनेभन्दा धेरै राम्रो कमाई ‘कबड्डी ४’ले सिनेमाघर एपमा गरेको छ ।’

नेपाली फिल्मले पनि ओटीटीमा राम्रो गर्न सक्छ भन्ने ‘कबड्डी ४’ले देखाएको खरेलको भनाई छ । डिजिटल राइट्स (युट्युब, टीभी आदि)बाट प्राप्त हुने रकम जति एपमा कमाई हुन अझै समय लाग्ने भए पनि युट्युबबाट नेपाली फिल्मले कमाउँदै आएकोभन्दा धेरै राम्रो कमाई सिनेमाघर एपमा हुन थालेको उनको दाबी छ । ‘कबड्डी ४’पछि एपमा ‘एक्टिभ यूजर’ पनि निकै बढेको उनले बताए ।

उनले भने, ‘एन्ड्रोइडमा ५ लाखमाथि र आइफोनमा ३ लाख बढी प्रयोगकर्ता पुगेका छन् । एन्ड्रोइड टीभी, अमेजन फायर र क्रोम कास्टमा हामीले फिल्म हेर्न दिएका छौं । सामसुङ र एलजी टीभीबाट पनि फिल्म हेर्न मिल्ने भैसकेको छ ।’ चाँडै एपमा ‘महापुरुष’ रिलिज हुन लागेको जानकारी दिँदै खरेलले ४/५ वटा फिल्मको ‘कलेक्सन डाटा’ एकसाथ सार्वजनिक गर्ने तयारी भैरहेको बताए ।

 

cinemaghar app


एपमा ‘जय भाले’, ‘रातो टीका निधारमा’, ‘गरुड पुरुण’ र ‘तिमीसँग’ले पनि राम्रो कमाई गरेको सीइओ खरेलले जानकारी दिए । गत बैशाखमा रिलिज भएको ‘प्रेमगन्ज’को ओपनिङ राम्रो नभए पनि बलियो ‘वर्ड अफ माउथ’ले विस्तारै ‘पिकअप’ लिन थालेको उनी बताउँछन् । एपमा केही सर्ट फिल्म पनि रिलिज भएका छन् । तर, सःशुल्क सर्ट फिल्म हेर्न दर्शकले खासै रुचि देखाएका छैनन् ।

विश्वका ठूला ओटीटी प्लेटफर्महरुले फिल्म तथा सिरिज निर्माण पनि गरिरहेका छन् । सिनेमाघर एपको पनि कुनै योजना छ ? भन्ने प्रश्नमा खरेल भन्छन्, ‘अहिले नै मेकिङ गर्न गाह्रो छ । फिल्मको बजेट निकै बढेको छ । २ करोडभन्दा मुनि फिल्म बन्नै छाडिसक्यो । अहिले यसबारेमा सोचेका छैनौं तर चाँडै वेब सिरिज निर्माण गर्दैछौं ।’ यो एपको सञ्चालक कलाकार खगेन्द्र लामिछाने पनि हुन् ।