.jpg)
अभिनेता सौगात मल्ल यतिबेला करिअरको उत्कर्षमा छन् । उनलाई लिएर फिल्म बनाउन निर्माताहरु ‘क्यू’मा बसेका छन् । गत वर्ष ‘कबड्डी ४’ र ‘दुई नम्बरी’ सफल भएपछि उनको व्यस्तता थप बढेको छ । अहिले उनको पाइपलाइनमा मात्र आधा दर्जन बढी फिल्म छन् । सबै फिल्मका निर्माता उनकै समय पर्खेर बसेका छन् । उनलाई भने फिल्मको सेड्युल मिलाउन सकस भैरहेको छ ।
अघिल्लो साता उनले फिल्म ‘पशुपति प्रसाद २’को छायांकन पूरा गरे । यसलगत्तै उनी फिल्म ‘अगस्त्य’को वर्कसपमा बसेका छन् । यसै साता यो फिल्मको छायांकन भारतको गोखरपुरबाट हुँदैछ । सम्भवतः उनले यो फिल्मका लागि २ महिनाको समय दिनुपर्नेछ । यसो हुँदा आगामी जुन ३० (असार १५) बाट छायांकनमा जान लागेको फिल्म ‘कामिनो’मा उनले काम गर्न भ्याउने अवस्था देखिन्न ।
यही कारण उनले उक्त फिल्मबाट हात झिकेको चर्चा चलिरहेको छ । तर, निर्देशक दीपक वली यसमा सत्यता नभएको बताउँछन् । उनले भने, ‘सौगात दाईले फिल्म छाड्नुभएको छैन । सेड्युल जुधेर समस्या चाहिँ भएको छ । हाम्रो सुटिङ सुरु हुँदासम्म उहाँको के हुन्छ, त्यसपछि थाहा हुन्छ । उहाँले ‘अगस्त्य’पछि तपाईंहरुको सेड्युल कहिलेबाट हुन्छ, त्यसपछि मिलाउनुपर्छ भन्नुभएको छ ।’
सौगातले ‘सिटामोल’, ‘हातीछाप’, ‘फाटेको जुत्ता २’, ‘चोर पुलिस’ पनि सम्झौता गरिसकेका छन् । अरु केही फिल्ममा पनि काम गर्ने वचन दिइसकेका छन् । यसरी हेर्दा उनलाई यो वर्ष सेड्युल मिलाउन सहज छैन । जुनसुकै चरित्रमा ढल्न सक्ने र सशक्त अभिनय गर्ने भएकाले प्रायः मेकरको रोजाइमा उनी परेका छन् । कोरोनापछि उनले मुनाफाको प्रतिशतमा पनि फिल्महरु गरिरहेका छन् ।

