केही नेपाली फिल्मको भाग्य अनौठो हुन्छ । हलमा दर्शक अभावले शो समेत ‘क्यान्सिल’ भएको फिल्मले युट्युब रिलिजमा ‘हिट’को ट्याग पाउँछ । यसको कारण हो, हलमा पैसा तिरेर हेर्नुपर्ने फिल्म युट्युबमा सित्तैमा हेर्न पाइन्छ । सित्तैमा पाए मान्छेले अलकत्रा त पचाउन सक्छ भने फिल्म कसले छाड्छ ? यसैले आजकाल नेपाली फिल्महरु हलमा भन्दा ज्यादा युट्युबमा हिट हुने गरेका छन् ।
२०७५ सालमा प्रदर्शनमा आएको फिल्म ‘चौका दाउ’ अहिले युट्युबमा उपलब्ध छ । सित्तैमा फिल्म हेर्न पाएको अवसर दर्शकहरुले पनि राम्रै उठाइरहेका छन् । त्यसमाथि २/३ महिनादेखि नेपाली फिल्म युट्युबमा आएकै थिएनन् । यसैले युट्युब रिलिजको ७ दिनमै फिल्मलाई १४ लाख बढी भ्यूज प्राप्त छ भने ८० प्रतिशत सकारात्मक प्रतिक्रिया छ । फिल्मको टिमका लागि यो खुसीको कुरा हो ।
तर, ‘चौका दाउ’ बक्स अफिसमा चौका हान्न असफल फिल्म हो । सन्तोष पन्त, वर्षा राउत, विल्सन विक्रम राई, रविन्द्र झा, निर्मल शर्मा जस्ता नाम चलेका कलाकारको अभिनयका बावजूद पनि फिल्मले हलमा घुँडा टेकेको थियो । न त गतिलो प्रतिक्रिया पाएको थियो । यही फिल्मलाई युट्युब रिलिजमा भने भ्यूज र प्रतिक्रिया दुवै राम्रो छ । नेपालको युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा समेत छ ।
युट्युबमा पाएको भ्यूजको आधा मात्रै पनि हलमा टिकट विक्री भएको हुन्थ्यो भने ‘चौका दाउ’ सर्वाधिक कमाई गर्ने पहिलो नेपाली फिल्म बन्थ्यो । ‘कबड्डी’ र ‘छक्का पञ्जा’ सिरिज कमाईमा धेरै पछि हुन्थे । युट्युबमा पाएको भ्यूज त निर्मातालाई हर्ष न विस्मात् । भ्यूज र प्रतिक्रिया हेरेर रमाउने मात्र हो । युट्युबमा फिल्म रिलिज गर्ने होडबाजीले हलमा फिल्मको व्यापार चौपट बनिरहेको छ ।

