
बलिउडका लोकप्रिय कलाकार आशीष विद्यार्थीले ६० वर्षको उमेरमा दोस्रो विवाह गरेका छन् । असम राज्यकी रुपाली बरुआसँग उनले बिहीबार विवाह गरेका हुन् । उनीहरुको अदालती विवाह भएको हो । रुपाली फेसन विजनेशमा आबद्ध छिन् । आशीषले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै जिन्दगीको यो विन्दूमा विवाह गर्नुलाई ‘एक्स्ट्रा-अर्डिनरी फिलिङ’को रुपमा ब्याख्या गरेका छन् ।
उनी भन्छन्, ‘हामीले एकअर्कालाई केही समय पहिला भेटेका हौं र सम्बन्ध अगाडि बढाउने फैसला लियौं । हामी यही चाहन्थ्यौं कि विवाहमा धूमधाम नहोस्, सिर्फ परिवारको उपस्थिति होस् ।’ दुई पक्षका परिवारका सदस्य र नजिकका साथीभाईको उपस्थितिमा उनीहरुले ‘कोर्ट म्यारिज’ गरेका हुन् । विवाहपछि रुपालीले आशीषको साथमा रहन आफूलाई एकदमै राम्रो लाग्ने बताएकी छन् ।
आशीषको पहिलो बिहे राजोशी बरुआसँग भएको थियो । वर्षौं पहिले सम्बन्धविक्षेद गरेका उनीहरुको एक छोरा छन् । नकारात्मक भूमिकामा सर्वाधिक रुचाइएका राष्ट्रिय अवार्ड विजेता आशीषले फिल्म ‘द्रोहकाल’बाट बलिउडमा डेब्यू गरेका थिए । उनले कयौं साउथ फिल्ममा पनि काम गरेका छन् । ‘हसीना मान जाएगी’, ‘कहो ना प्यार है’, ‘जोडी नम्बर १’ उनका यादगार फिल्महरु हुन् ।

