Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘अगस्त्य’ : नाजिरले २० केजी तौल बढाउँदा सौगातले घटाए

फिल्मीखबर, काठमाडौं, 2023/05/25

saugat malla and najir husen

 

अभिनेताद्वय सौगात मल्ल र नाजिर हुसेनले पहिलो पटक एकसाथ फिल्ममा काम गर्दैछन् । फिल्म ‘अगस्त्य’मा उनीहरुले काम गर्न लागेका हुन् । दुई हप्तादेखि दुवै फिल्मको वर्कसपमा व्यस्त छन् । मंगलबार भारतको गोरखपुरबाट छायांकन सुरु गर्न लागिएको फिल्ममा अभिनेत्री मालिका महतको पनि मुख्य भूमिका रहनेछ । सौरभ चौधरीको लेखन तथा निर्देशनमा फिल्म बन्न लागेको हो ।

फिल्मका लागि सौगात र नाजिरले तौल राम्रै घटबढ गरेका छन् । सौगातले २० केजी आसपास तौल घटाएका छन् भने नाजिरले २० केजी तौल बढाएर ८२ केजी बनाएका छन् । सौगातले भने एक चरणको सुटिङपछि तौल बढाउनुपर्नेछ । पहिलाको अवस्थाभन्दा उनले झन्डै ६/७ केजी तौल बढाउनु पर्ने हुन्छ । त्यसका लागि उनलाई २० दिनको समय दिइने निर्देशक चौधरीले जानकारी दिए ।

‘सौगात दाई र नाजिरको तौल घटबढ क्यारेक्टरको नै डिमान्ड हो । यसपटक उहाँहरु एकदमै फरक क्यारेक्टरमा देखिँदै हुनुहुन्छ,’ सौरभले भने । दुई च्याप्टरमा बन्ने फिल्मको भारतको बनारसमा पनि छायांकन हुनेछ । नेपालमा भने काठमाडौं र नवलपरासीमा फिल्मको छायांकन राखिएको छ । निर्देशक चौधरीले दुई वर्ष लगाएर फिल्मको दुईवटै च्याप्टरको स्क्रिप्ट तयार पारिसकेका छन् ।

प्रकाश मल्ल र अनिष तामाङ फिल्मका निर्माता हुन् । डार्क हर्स इन्टरटेन्मेन्टको प्रस्तुती रहने फिल्मलाई संजय लामाले खिच्नेछन् । फिल्ममा प्रमोद अग्रहरी, रविन्द्र झा र विजय बरालको पनि अभिनय रहनेछ । ‘अगस्त्य’लाई निर्देशक चौधरी आफ्नो ड्रिम प्रोजेक्ट बताउँछन् । एक्सन प्रधान कथामा बन्ने फिल्मको शीर्षक हिन्दू धर्मका सप्तऋषि मध्येका अगस्त्य ऋषिको नामबाट जुराइएको हो ।