अघिल्लो वर्ष अभिनेत्री आँचल शर्माका लागि सम्झनलायक रह्यो । उनले खासै अपेक्षा नराखेको फिल्म ‘झिँगेदाउ’ हिट भयो । यसले उनको अभिनय करिअरमा एउटा इट्टा थप्ने काम गरेको छ । तर, उनलाई यस वर्षको सुरुवातमा नै झड्का लाग्यो । हिट फिल्मको छैठौं श्रृंखला ‘नाईं नभन्नू ल ६’ उनको करिअरकै सबैभन्दा ठूलो डिजास्टर बनेको छ । यो उनले कल्पनासम्म नगरेको कुरा थियो ।
अब उनको पखाई र आशा फिल्म ‘वर एन्ड वधु’मा छ । तर, छायांकन नै पूरा नभएकाले रिलिज अन्योल छ । गत वर्षको साउनमा रोमानियामा फिल्मको ५० प्रतिशत छायांकन गरिएको थियो । बाँकी ५० प्रतिशत छायांकन भने नेपालमा गर्ने गरी फिल्मको टिम फर्किएको थियो । तर, नेपाल फर्किएको एक वर्ष वित्न लाग्दा समेत फिल्मको बाँकी छायांकन सुरु हुने सुरसार नै देखिएको छैन ।

गत फागुन १९ गतेलाई फिल्मको प्रदर्शन मिति समेत घोषणा गरिएको थियो । तर, छायांकन पूरा नभएकाले रिलिज हुने कुरै भएन । आखिर किन छायांकन पूरा हुन सकेन त ? यसबारेमा निर्देशक मिलन चाम्स भन्छन्, ‘यसको कारण अहिलेको आर्थिक मन्दी नै हो । निर्माताका कारण रोकिएको हो । मैले पनि निर्मातालाई दबाब दिएको छैन । किनकि, यो बेलाको अवस्था सबैलाई थाहा छ ।’
चाम्सको योजना यही वर्ष उक्त फिल्मको छायांकन पूरा गर्नेछ । आगामी सेप्टेम्बर १० तारिखमा लण्डनमा हुने आफ्नो फिल्म ‘गोर्खा वारियर’को प्रिमियरभन्दा अगाडि वा त्यस लगत्तै ‘वर एन्ड वधु’को छायांकन सकेर आफ्नो पाइपलाइनमा रहेको फिल्म ‘अन्जिला’को छायांकन सुरु गर्ने उनको योजना छ । फिल्ममा आँचलले राम्रो काम गरेको र भूमिका पनि राम्रो रहेको निर्देशक चाम्स बताउँछन् ।
एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित फिल्मको कार्यकारी निर्मातामा डाक्टर अमित रिजाल छन् । फिल्ममा आँचलको जोडी नव-नायक विवेक कर्माचार्यसँग बाँधिएको छ । विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, हिमेश पन्त, किरण केसी, बुद्धि तामाङ, मनोज केसी, रविना केसी, सृष्टि खड्काको पनि अभिनय रहेको फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजको हो ।

