गएको दुई वर्षमा अभिनेता अनमोल केसीले झन्डै आधा दर्जन फिल्म सम्झौता गरे । त्यसमध्ये केही फिल्म उनले छाडिसकेका छन् भने केही छायांकनमा जान ढिलाइ भएका छन् । उनी गएको चैत अथवा बैशाखबाट फिल्म ‘जेरी : अन टप’को छायांकनमा आबद्ध हुने तयारीमा थिए । तर, अब यो फिल्मको निर्माण नै धकेलिएको छ । अर्को वर्ष मात्र फिल्मको छायांकन हुन सक्ने सम्भावना छ ।
निर्माता सरोज न्यौपानेले ‘जेरी : अन टप’को निर्माण धकेलिनुको दुईटा कारण दिएका छन् । पहिलो, फिल्मको बजेट निकै ठूलो छ । अहिले देशमा आर्थिक मन्दी देखिएकाले तत्काल ठूलो बजेटमा फिल्म निर्माण गर्ने जोखिम उनले उठाउन नचाहेका हुन् । दोस्रो, फिल्मको पहिलो छायांकन सेड्युल अष्ट्रेलियामा राखिएको छ । अहिले त्यहाँ चिसो भएकाले पनि फिल्मको निर्माण धकेलिएको हो ।

अर्को वर्ष ‘जेरी : अन टप’ निर्माण हुने दाबी निर्माता न्यौपानेले गरे । उनी यो फिल्मभन्दा अगाडि अनमोललाई लिएर अर्को फिल्म बनाउने तयारीमा जुटेका छन् । उनले भने, ‘हामीले अनमोलसँग अर्को प्रोजेक्टको ‘प्लान’ गरेका छौं । केही दिनमा ऊसँग भेटेर सल्लाह गर्छौं । फाइनल भएको चाहिँ छैन ।’ नयाँ फिल्मलाई पनि हेमराज विसीले निर्देशन गर्ने निर्माता न्यौपानेले जानकारी दिए ।
‘जेरी २’का लागि पहिला तयार पारेको स्क्रिप्टलाई केही परिवर्तन गरेर फिल्म बनाउन लागिएको सरोजले बताए । फिल्मको नाममा ‘जेरी’ नछुट्ने उनको भनाई छ । उनले भने, ‘फिल्मको नाम ‘जेरी : अन टप’ नहोला, तर ‘जेरी’ नाममै केही जोडिन्छ । ‘जेरी’ नाम चाहिँ छुट्दैन ।’ निर्माता न्यौपानेले एउटा समुहसँग सहकार्य गरेर कमेडी जनरामा फिल्म निर्माणको तयारी पनि गरिरहेका छन् ।
‘जेरी’को निर्माण धकेलिएपछि अनमोलले अघिल्लो हप्ता सुयोग गुरुङको निर्देशन र रोहित अधिकारीको निर्माण रहने फिल्म ‘फर्की फर्की’ सम्झौता गरे । उनी पिता भुवन केसीको निर्देशनमा बन्ने एक लभस्टोरी फिल्मको पनि तयारीमा छन् । यी दुई फिल्ममध्ये एउटा भदौमा र अर्को कात्तिकमा गर्ने उनको योजना छ । र, यी दुई फिल्ममध्ये एउटा आगामी बैशाख १ गते प्रदर्शनमा आउनेछ ।

