अभिनय करिअरको एक दशकभन्दा लामो अवधिमा अभिनेत्री बेनिशा हमालले पहिलो पटक हिट फिल्म भेटाएकी छन् । अघिल्लो वर्ष प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा ४’को सफलताले उनको करिअरलाई नै पूर्नजीवन दिएको छ । यद्यपि, लगातार फिल्म असफल हुँदा पनि उनी कामविहीन भने कहिल्यै हुनुपरेको थिएन । यसको कारण सिर्फ एउटै हो, उनी अभिनयमा अब्बल छिन् ।
अभिनयसँगै फिल्म मेकिङमा पनि रुचि छ उनलाई । मौरी पिक्चर्स खडा गरेर उनले ‘मिसिङ ब्राइड’ नामक सर्ट फिल्मको निर्माण र निर्देशन समेत गरिसकेकी छन्, जुन सिनेमाघर एपमा उपलब्ध छ । लकडाउनअघि भारतमा फिल्म मेकिङको अध्ययन गरेकी बेनिशा अब फिल्म निर्माणको तयारीमा रहेको चर्चा चलिरहेको छ । तर, उनी तत्काल फिल्म निर्माण र निर्देशनको सोचमा छैनन् ।
.jpg)
उनले फिल्मीखबरसँग फोन संवादमा भनिन्, ‘अहिले फिल्म मेकिङको बारेमा केही सोच छैन । मेकरको रुपमा मैले आफ्नो क्षमता थाहा पाउन त्यो सर्ट फिल्म बनाएको थिएँ । तर फिल्म मेकिङमा एकदमै मिहिनेत चाहिन्छ । त्यसका लागि म अझै तयार छैन । मैले अझ धेरै मिहिनेत गर्नुपर्छ ।’ कोही लगानीकर्ता सहकार्य गर्न इच्छुक भएको अवस्थामा भने उनी फिल्म बनाउने सोचमा छिन् ।
फिल्म निर्देशन पनि बेनिशालाई हतारमा गर्नु छैन । ‘म फिल्म निर्देशनमा अझै समय लिन्छु,’ उनले भनिन्, ‘म्यूजिक भिडियो र सर्ट फिल्म आफ्नै प्रोडक्सन हाउसबाट बनाएकाले कोही लगानीकर्ता भएको खण्डमा आफू निर्माता रहेर फिल्म बनाउन चाहिँ सकिन्छ होला । तर, यसका लागि पनि म अहिले नै तयार छैन ।’ अहिले आफूले अभिनयलाई प्राथमिकता दिइरहेको बेनिशाको भनाई छ ।
उनले दीपकराज गिरीको समुहसँग मिलेर फिल्म बनाउन लागेको पनि गाइँगुइँ सुनिएको छ । तर, यसमा सत्यता नभएको उनको प्रष्टीकरण छ । ‘मैले एकपटक दीपाश्री निरौला दिदीसँग सोधेको चाहिँ थिएँ । तर, मलाई अरु कसैले दीपक दाईको टिमसँग कसरी सहकार्य गर्न सकिन्छ भनेर सोधेकाले मैले दीपाश्री दिदीसँग कुरा राखेको थिएँ । मैले फिल्म बनाउन लागेको होइन,’ उनले भनिन् ।

