Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित तथा पुरस्कृत

फिल्मीखबर, काठमाडौं, 2023/05/22

कला विधामा सक्रिय पत्रकारहरुको छाता संस्था चलचित्र पत्रकार संघ नेपालले आफ्नो २४औं वार्षिकोत्सव तथा चलचित्र पत्रकारिता दिवसको अवसरमा सातजना चलचित्र पत्रकारहरुलाई सम्मानित तथा पुरस्कृत गरेको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, प्रथम रंगीन नेपाली फिल्मकी अभिनेत्री चैत्य देवी, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतसहितले सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् ।

२५ वर्षभन्दा लामो समयदेखि कला पत्रकारितामा सक्रिय रहेको भन्दै शान्तिप्रियलाई ५५ हजार ५ सय ५५ राशीको ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’, तुलसी गिरी ‘भावुक’ र श्रीराम सिग्देललाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान’, कुबेर डंगोल र दीपज्योति थापालाई ५१ हजार राशीको ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’ र सृष्टि पोखरेललाई एक थान ल्यापटपसहितको ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’ र रवि अधिकारीलाई २५ हजार राशीको ‘राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरियो ।

 

fja nepal


त्यस्तै, अघिल्लो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा संघका निर्वतमान अध्यक्ष दिनेश दिनेश सिटौलालाई धन्यवाद पत्र प्रदान गरिँदा मनोज केसी, ज्ञानु राई, रश्मी थापा र निरज पन्थीलाई कदर पत्र प्रदान गरिएको थियो । सोही कार्यक्रममा संघले कला पत्रकारितामा ६० वर्ष पूरा गरेका पत्रकारलाई मासिक चार हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने कार्यको पनि थालनी गरेको छ । यो भत्ता प्राप्त गर्ने विजयरत्न तुलाधर पहिलो कला पत्रकार बनेका छन् । उनलाई बैशाख र जेठ महिनाको गरी आठ हजार भत्ता प्रदान गरियो ।

कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले फिल्मको समग्र पाटोलाई पत्रकारिताले समेट्ने भएकाले राज्यदेखि फिल्मकर्मी सबैले माया गर्नुपर्ने धारणा राखे । उनले भने, ‘फिल्ममा कलाकारको अभिनय कस्तो छ, फिल्मले के भन्न खोजेको छ, फिल्म हेर्ने कि नहेर्ने भन्ने धेरै कुरा पत्रकारिताबाट आउने भएकाले यसलाई सबैले माया गर्नुपर्छ ।’ नेपाली फिल्मलाई विश्वमा नै फरक पहिचान दिलाउन सबैले आ-आफ्नो ठाउँबाट भूमिका खेल्न पनि उनले आग्रह गरे ।

कार्यक्रममा संघका पूर्वअध्यक्ष विदुर गिरी, कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्माता संघका अध्यक्ष नवल खड्का, अभिनेता तथा निर्माता दीपकराज गिरी, अभिनेता पल शाह, निर्देशक शोभित बस्नेत, निर्माता सुनिल कुमार थापालगायतको उपस्थिति रहेको थियो । संघले हरेक वर्ष आफ्नो वार्षिक उत्सवमा चलचित्र पत्रकारहरुलाई सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ ।