तीन हप्ता अगाडि सार्वजनिक भएको फिल्म ‘बाटो : रोड टु डेथ’को ट्रेलरले धेरैलाई ‘सरप्राइज’ बनायो । किनकि, ट्रेलर पृथक थियो । नेपाली फिल्मको मेकिङ र कथावाचन शैली फरक हुन नसकेको टिकाटिप्पणी भैरहेको समयमा ‘बाटो’को ट्रेलरले आशाको नयाँ किरण छरेको छ । जुन शैलीमा ट्रेलर मेकिङ छ, त्यो नेपाली फिल्मकै लागि नयाँ प्रयोग हो । र, दर्शकका लागि नयाँ अनुभूति हो ।
नेपाली ट्रेलरले चर्चा बटुलेपछि निर्माण पक्षले अंग्रेजीमा पनि ट्रेलर तयार पारेको छ । ट्रेलरमा साइकोटिक कल्ट ग्याङलाई डरलाग्दो र खतरनाक खलनायकको रुपमा देखाइएको छ । चिकित्सा पेशामा आबद्ध एउटी युवतीले भोग्नुपरेको भयानक घटनालाई प्रस्तुत गरिएको ट्रेलर बुलन्द छ । छायांकन र ब्याकग्राउन्ड स्कोर प्रशंसनीय छ । ट्रेलरले फिल्मको दृश्यभाषा उम्दा रहेको छनक दिन्छ ।
काठमाडौँ फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मका लेखक तथा निर्देशक मदन थापा र छायाँकार शरण ऋषि हुन् । उनीहरु भारतको चेन्नइ फिल्म उद्योगमा स्थापित छन् । नेपाली, अंग्रेजी, तमिल र हिन्दी भाषामा तयार भएको फिल्ममा मिथिला शर्मा, रक्षा थापा, सुलक्क्षण भारती, उत्पल झा, विजय ताम्राकार लगायतको प्रमुख भूमिका रहेको छ । यो फिल्मका निर्माता चन्दन झा हुन् ।
काठमाडौंका विभिन्न स्थानसँगै उदयपुरको गाईघाटमा छायांकन भएको फिल्मको प्रदर्शन मिति सार्वजनिक गरिएको छैन । फिल्म डब्बी एटमस साउन्ड सिष्टममा तयार हुनेछ । डब्बी एटमस साउन्ड सिष्टममा नेपालमा पहिलो पटक फिल्म तयार हुन लागेको हो । फिल्मको ट्रेलर विभिन्न चरणमा सार्वजनिक गर्ने तयारी गरेको छ । पहिलो ट्रेलरले नै फिल्मलाई दर्शकमाझ प्रतिक्षीत बनाएको छ ।

