फिल्म ‘प्रेमपिण्ड’ले अभिनेता सरोज खनालको करिअर उत्कर्षमा पुर्याएको थियो । उनी नेपाली फिल्मका ठूला स्टार भएका थिए । उनको बढ्दो लोकप्रियता देखेर त्यसबेलाका ठूला राजनीतिक दलहरुले चुनाव लड्नका लागि प्रस्ताव समेत गरेका थिए । २०५२ सालमा उनी नेकपा एमालेबाट चितवनमा चुनाव लड्न लागेको व्यापक चर्चा समेत चलेको थियो । तर, उनी चुनावमा होमिएनन् ।
पछि देशमा माओवादी-सशस्त्र जनयुद्ध सुरु भयो । फिल्म बन्न छाडे । नेपालमा भविष्य सुरक्षित नदेखेपछि सरोज खनाल अमेरिका हानिए । १७ वर्ष अमेरिका बसेर आफ्नो र सन्तानको भविष्य सुरक्षित गरेपछि नेपाल फर्किएका उनी अहिले अभिनयमा सक्रिय छन् । उनलाई अहिले पनि विभिन्न राजनीतिक दलबाट चुनाव लड्न प्रस्ताव आउने गरेका छन् । तर, उनलाई राजनीतिप्रति रुचि छैन ।
२०५२ सालमा चुनाव लडेको भए अहिलेसम्ममा आफू प्रधानमन्त्री बनिसकेको हुन्थेँ भन्ने खनाललाई लाग्छ । रंग पत्रकार गोपिकृष्ण चापागाइँले हिमालय टेलिभिजनमा सञ्चालन गर्ने ‘सेलेब्स टक शो’मा कुराकानी गर्दै उनले भनेका छन्, ‘त्यतिबेला चुनाव लडेको भए यतिबेला प्रधानमन्त्री हुन्थेँ होला । अहिले यो हिसाबमा पछुतो लाग्छ कि म भएको भए देशलाई यतिसम्म चाहिँ विग्रन दिने थिइनँ ।’
.jpg)
त्यसबेला चुनाव लड्न अस्वीकार गर्नुको कारणबारे उनी अगाडि भन्छन्, ‘०५२ सालमा चितवनमा लौरो मात्र उठाइदिएको भए पनि एमालेका उम्मेदवारले जित्ने अवस्था थियो । त्यतिखेर मलाई चुनाव लड्न प्रस्ताव आएको थियो । पछि मैले मेरो घर भएको ठाउँका अग्रजहरुसँग छलफल गरेँ । उहाँहरुले यो क्षेत्रमा नआउन भन्नुभएपछि मैले चुनाव लडिनँ । मैले चाहेको भए चुनाव लड्न सक्थेँ ।’
डा. बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी गठन गर्दा खनालको नाम केन्द्रीय सदस्यमा थियो । पछि उनले आफ्नो नाम हटाउन लगाए । उनी राजनीतिमा जानुभन्दा फिल्म क्षेत्रलाई नै उठाउनु आफ्नो दायित्व मान्छन् । उनी भन्छन्, ‘राजनीतिमा जानुभन्दा म फिल्म क्षेत्रलाई नै उठाउन चाहन्छु । सबै राजनीतिमा नै जाने हो भने फिल्म क्षेत्र कसले उठाउने ? यो क्षेत्रप्रति हाम्रो अझ धेरै दायित्व छ ।’
उनी अमेरिका बस्न छाडेको भए पनि त्यहाँको नागरिकता नत्यागेको टिकाटिप्पणी हुँदै आएको छ । यसबारेमा पनि उनले स्पष्ट पार्दै आफूसँग अमेरिकी नागरिकता नभइ ग्रीन कार्ड मात्र रहेको बताएका छन् । ‘ग्रीन कार्ड होल्डर भएकाले मैले सरकारी पदमा काम गर्न मिल्दैन । मलाई धेरै अफर आएको थियो । चलचित्र विकास बोर्डको अध्यक्षको अफर पनि आएको थियो,’ उनले भनेका छन् ।
दुई वर्षअघि संसार कोरोना महामारीसँग जुधिरहेको समयमा खनाल अमेरिका उडेका थिए । देश पीडामा रहँदा उनी कोरोनाबाट बच्न अमेरिका भागेको भन्दै व्यापक टिकाटिप्पणी भए । तर, त्यसबेला छोरा, नाती, श्रीमती सबै अमेरिकामा रहेकोले परिवारलाई भेट्नका लागि आफू अमेरिका गएको उनले प्रष्टीकरण दिएका छन् । आफू कोरोनाबाट बच्न अमेरिका नगएको उनको भनाई छ ।
‘कोभिडको संक्रमण बढिरहेकाले एयरलाइन्सहरुले सेवा बन्द गरिरहेका थिए । मलाई केही भयो भने उनीहरु आउन पाउँदैन थिएँ अनि उनीहरुलाई केही भयो भने म जान पाउँदिनँ थिएँ,’ उनी सम्झन्छन्, ‘त्यही बेला अमेरिकी दूतावासले अमेरिकी नागरिक र ग्रिनकार्डवालालाई चार्टर विमानबाट लैजाने निर्णय गर्यो । म जान्नँ नै भनेर बसेको थिएँ । तर, पछि ती कुराहरु सम्झिएपछि गएँ ।’

