.jpg)
बैशाख १ गतेबाट प्रदर्शित फिल्म ‘जारी’पछि नेपाली फिल्मले व्यावसायिक सफलता हासिल गर्न सकेका छैनन् । बैशाख महिनामा मात्र ७ फिल्म असफल भए । यसका बावजूद पनि फिल्म रिलिज भने हरेक हप्ता हुँदै आएको छ । यो हप्ता दुई फिल्म ‘डाकिनी’ र ‘ए साथी सुन’ प्रदर्शनको मैदानमा उत्रिएका छन् । फरक-फरक कथावस्तुमा बनेका दुवै फिल्मको रिलिज उद्देश्य पनि फरक छ ।
‘डाकिनी’को रिलिज उद्देश्य व्यावसायिक प्रयोजन होइन । ८ करोड बढीको लागतमा निर्माण भएको फिल्मलाई सीमित हलमा मात्र रिलिज गरिएको छ । धिमा गतिको फिल्म रुचाउने दर्शकलाई लक्षित गरेर निर्माण टिमले केही मल्टीप्लेक्समा फिल्मलाई रिलिज गरेको हो । ‘ए साथी सुन’को रिलिज उद्देश्य भने व्यावसायिक प्रयोजन नै हो । तर, यसले मल्टीप्लेक्सहरुमा सीमित शो पाएको छ ।
लभस्टोरी, कमेडी र थ्रीलर जनरामा बनेको ‘ए साथी सुन’मा वर्षा सिवाकोटी, रमेश बानियाँ, सुशिल पोखरेल, बिमला गिरी, स्वर्गीय जयनन्द लामा, आयन खड्का, रमेश अधिकारीका साथै बाल कलाकारहरु कृष्मा खड्का र इभान सन्जेलले अभिनय गरेका छन् । राम राघव आचार्यको लेखन तथा निर्देशनमा तयार भएको फिल्मको निर्माण बीना कार्की र सन्तोषकुमार राईले मिलेर गरेका हुन् ।
त्यस्तै, बौद्ध धर्मका ठूला गुरु मानिने खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे)द्वारा निर्देशित ‘डाकिनी’मा रविन्द्र सिंह बानियाँ, छिरिङ तासी, तेन्जिङ कुन्सेल, कार्म, दिव्यदेवलगायतको अभिनय छ । षट्कोण आर्टस्को ब्यानरमा निर्माण भएको फिल्ममा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग भएको छ । शुक्रबार साँझ काठमाडौंमा फिल्मको प्रिमियर आयोजना गरिएको छ ।

