.jpg)
विवादका पर्याय कलाकार नवल खड्काले आफ्नो फिल्म ‘काँडेतार’लाई चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले पास नगरेको भन्दै केही दिन राम्रै बबण्डर मच्चाए । अदालत जाने चेतावनीदेखि नेतालाई बोलाएर पत्रकार सम्मेलनसम्म गर्न भ्याए । यसको पछाडि उनको उद्देश्य एउटै मात्र थियो, विवाद चर्काएर फिल्मको प्रचार गर्ने । केही हदसम्म खड्का आफ्नो उद्देश्यमा सफल पनि भए ।
फिल्ममा गृह मन्त्रालयको बोर्ड देखाइएको र भुटान देशको आन्तरिक मामिलामा आँच पुग्ने संवाद समावेश गरिएको भन्दै त्यसलाई हटाएपछि मात्र सर्टिफिकेट प्रदान गर्ने सेन्सर बोर्डले अडान थियो । यो विषयलाई केही दिन मिडियामा उछालेका खड्का अन्ततः घुँडा टेक्न बाध्य भएका छन् । सेन्सर बोर्डले भनेका दृश्य तथा संवादहरु हटाएपछि बिहीबार फिल्मको सेन्सर फुकुवा भएको छ ।
सेन्सर सर्टिफिकेट प्राप्त गरेको तस्विर फेसबुकमा सेअर गर्दै नवलले सेन्सर स्वीकृति प्रक्रियामा आएको कठिनाइलाई सुल्झ्याउने अवस्था निर्माण गर्नमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै चाँडै प्रदर्शन मिति घोषणा गरिने बताएका छन् । फिल्मले नेपाल भारत सीमामा काँडेतार लगाउनुपर्ने विषय उठाएको छ । यसअघि पनि नवलले सीमा क्षेत्रको समस्यामा फिल्म ‘दशजगा’ बनाएका थिए ।
नवलकै लेखन, निर्माण, निर्देशन र अभिनय रहेको फिल्ममा गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीलगायतको पनि अभिनय छ । फिल्ममा सौरभ लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, मणि थापा र दीपक शर्माको संगीत रहेको छ ।

