.jpg)
क्रिकेटर शरद भेष्वाकरसँगको पाँच वर्ष लामो प्रेम सम्बन्धलाई २०७४ सालमा विवाहमा परिणत गरेकी अभिनेत्री निशा अधिकारीले गत वर्ष भदौ २८ गते काठमाडौं जिल्ला अदालतमा श्रीमानविरुद्ध अंशबन्डाको मुद्धा हालेपछि उनीहरुको दाम्पत्य जीवनमा संकट उत्पन्न भएको चर्चाले फिल्म र क्रिकेट क्षेत्र राम्रै गर्मायो । निशाले डिभोर्स नगरी नै शरदविरुद्ध अंशबन्डाको मुद्धा हालेकी थिइन् ।
निशाले आफू र छोरालाई अंशभाग लगाउनुपर्ने माग गर्दै हालेको मुद्धामा अदालतले भेष्वाकरको सम्पत्तिको फाँटबारी (सम्पत्तिको सम्पूर्ण विवरण) माग गर्न आदेश दिएको थियो । यस विषयलाई लिएर टिकाटिप्पणीहरु हुन थालेपछि निशाले फेसबुकमार्फत् यो आफूहरुको व्यक्तिगत मामला रहेको बताउँदै अत्यन्त परिपक्वताका साथ राम्रो तरिकाले काम गरिरहेको प्रष्टीकरण दिएकी थिइन् ।
वैवाहिक जीवन संकटमा रहेको चर्चाबीच निशा र शरद छोराको जन्मदिनमा एकसाथ देखिएका छन् । निशाले बिहीबार सामाजिक सञ्जालमा छोरा युभानको ५औं वर्षको जन्मदिन सेलिब्रेसनका केही तस्विरहरु सेअर गरेकी छन्, जसमध्ये एउटामा उनी श्रीमान् र छोराको साथमा देखिएकी छन् । तस्विरमा दुवै हर्षित देखिन्छन् । निशाले झन्डै डेढ वर्षपछि शरदसँगको तस्विर सेअर गरेकी हुन् ।
छोराको खातिर आफूहरु सधैं एक ठाउँमा उभिने संकेत स्वरुप निशाले उक्त तस्विर सेअर गरेको हुनसक्ने बुझिन्छ । उनीहरुबीच मिलनको संकेत पनि यो तस्विरले गर्छ । निशा र शरदको सम्बन्ध विग्रिएको चर्चाले बेचैन बनेका प्रशंसकहरुलाई उनीहरु छोराको जन्मदिनमा एकसाथ देखिएको तस्विरले खुसी दिलाएको छ । निशाले २०७५ सालमा अमेरिकामा युभानलाई जन्म दिएकी थिइन् ।

