
चरित्रमा विविधता पस्किने कलाकार हुन्, रविन्द्र सिंह बानियाँ । ‘पशुपति प्रसाद’को हनुमान पात्र होस् वा ‘जात्रा’ सिरिजको जोयश पात्र या ‘महापुरुष’मा छोराको भूमिका, सबैमा उनले आफ्नो प्रभाव छाडेका छन् । उनले गर्ने पात्र समाजसँग नजिक हुन्छन् । र, चरित्र निर्माणमा उनको मिहिनेत पनि देखिन्छ । यसैले त थोरै फिल्म गरेर पनि उनको नाम अब्बल दर्जाको कलाकारमा आउँछ ।
यसबीच, रविन्द्रले अहिलेसम्मकै पृथक भूमिकामा काम गरेको नयाँ फिल्म ‘डाकिनी’ भोलि (जेठ ५) शुक्रबारबाट नेपालका सीमित मल्टीप्लेक्सहरुमा प्रदर्शन हुँदैछ । यो फिल्म उनी संलग्न षट्कोण आर्टस्को ब्यानरमा बनेको हो । निर्माणको चरणदेखि फिल्ममा उनको भूमिकाबारे खुलाइएको थिएन । प्रदर्शनको पूर्वसन्ध्यामा उनको भूमिका खुल्ने गरी एउटा पोस्टर सार्वजनिक गरिएको छ ।
पोस्टरमा उनलाई ठम्याउनै मुश्किल पर्छ । लामो कपालमा सिहुँरिएको गुलाबको फूल र गजरा (फूलको माला), आँखामा गाजल, ओठमा रातो रंगको लिपिस्टिक, गालामा पोते, हातमा चुरा, नङमा नेलपोलिस, सिउँदोमा सिन्दूर, निधारमा बिन्दी, चौबन्दी चोली र साडी लगाएका उनी ट्रान्सवुमन लुक्समा प्रस्तुत छन् । उनको यो लुक्सले फिल्मप्रति दर्शकमा थप कौतुहलता जगाउने निश्चित छ ।
यो फिल्म क्यूएफएक्सको छायाँ सेन्टर र लबिम मल, एफक्यूब सिनेमाज्, बिग मुभिज र एसके सिनेमामा मात्र प्रदर्शन हुनेछ । बौद्ध धर्मका ठूला गुरु मानिने खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे)द्वारा निर्देशित फिल्ममा रविन्द्रसँगै छिरिङ तासी, तेन्जिङ कुन्सेल, कार्म, दिव्यदेवलगायतको अभिनय रहेको छ । व्यावसायिक प्रयोजनले फिल्म प्रदर्शन गर्न नलागिएको निर्माण टिमले जनाएको छ ।

