५०/६० को दशकतिर हुक्कालाई हुनेखाने वर्गको प्रतिष्ठा र सौखिन वस्तु मानिन्थ्यो । त्यसबेला राजा, राज्यको माथिल्लो ओहोदाका व्यक्ति, गाउँका मुखिया, जिम्वाल, प्रधानपञ्च आदिले मात्र हुक्का प्रयोग गर्थे । सर्वसाधारणलाई हुक्का प्रतिबन्ध जस्तै थियो । यसैले पनि हुक्कालाई सामन्तवादको संज्ञा दिइन्छ । पछिल्लो समय भने हुक्का प्रयोग जो कोहीका लागि पनि सामान्य बनिसकेको छ ।
यही हुक्कासँग जोडिएको समाजको मनोविज्ञानमा आधारित भएर फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’ बनेको छ, जुन आगामी जेठ १२ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । निर्देशक शम्भु थापाले हुक्काको माध्यमबाट फिल्ममा कथा भनिएको बताएका छन् । उनी भन्छन्, ‘अग्रजले हुक्का प्रयोग गरेको देखेपछि बच्चाले के कस्तो सपना देख्छ र त्यो पूरा गर्न के गर्छ भन्ने कुरा उठान गरेका छौं ।’
फिल्मले वर्तमान समाजको प्रतिनिधित्व गर्ने उनको दाबी छ । ‘हाम्रै अगाडि सफलतादेखि सम्पत्तिसम्म सबैथोक हुन्छ तर त्यही कुरा खोज्न हामी बाहिर भौतारिरहेका हुन्छौं । पछि यी सबै कुरा हाम्रै अगाडि रहेछ भन्ने महसुस हुन्छ । फिल्मले दिन खोजेको निचोड यही हो,’ उनले भने, ‘हुक्कालाई सामन्तवादसँग जोडेका चाहिँ छैनौं । यद्यपि, कहीँ कतै फिल्ममा त्यसको आभास हुन पनि सक्छ ।’
अभिनेता तेज गिरीले फिल्ममा आफ्नो क्यारेक्टरले ट्वीस्ट ल्याउने बताए । ‘कथालाई नयाँ मोड दिने भूमिका निभाएको छु,’ आफूले निभाएको भूमिकाबारे प्रष्ट पार्दै उनी भन्छन्, ‘विदेशबाट फर्किएको एउटा अल्लारे केटाको क्यारेक्टर हो । कोही मायाको अभावमा तड्पिएकोलाई मायाको प्रभावमा पारेर ट्वीस्ट ल्याउने भूमिकामा छु ।’ फिल्मको कथा नेपाली माटोको रहेको गिरीको जिकिर छ ।
अभिनेता प्रकाश घिमिरेले फिल्ममा आफू हुक्काको सौखिन क्यारेक्टरमा रहेको बताए । ‘मेरो चरित्र सामन्ती प्रवृतिको चाहिँ होइन । त्योबेलाको आँखाले हेर्दा समाजसेवी नै हो,’ उनी भन्छन्, ‘फिल्ममा म कहिले बलियो त कहिले कमजोर देखिन्छु । यो सामाजिक विषय हो । हिङ नभए पनि हिङ्ग बाँधेको टालो हो भन्ने प्रवृति कसैसँग रहन्छ । त्यसलाई उठाउने प्रयास पनि फिल्मले गरेको छ ।’
फिल्मका लेखक तथा अभिनेता सन्तोषकुमार आत्रेयले आफूले पत्रिकामा पढेको समवेदनालाई कथामा उतारेको बताए । फिल्मको कथा दर्शकलाई केही पृथक लाग्ने उनको विश्वास छ । कार्यकारी निर्माता किरणकुमार आत्रेयले नेपाली कला-संस्कृतिका लागि केही गर्नुपर्छ भन्ने भावनाले फिल्म बनाएको बताए । अभिनेत्री तलिसा गुरुङले भने राम्रो कथामा काम गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।
फिल्ममा प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, प्रमिला खनाल, तेज गिरी, अशु न्यौपाने, निश्चल विमल, एलिशा विकको अभिनय छ । सन्तोषकुमार आत्रेयको कथा रहेको फिल्ममा सन्तोष र भगवान् पौडेलको पटकथा छ । रेश्मा प्रधान सह–निर्माता, पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता हुन् ।

