
नेपाली फिल्म क्षेत्रको सबैभन्दा बलियो समुह मानिने दीपकराज गिरीको समुहले फरक-फरक निर्देशकसँग टिमअप गर्दै आएको छ । यो समुहको ‘६ एकान ६’लाई दिनेश डिसी, ‘वडा नम्बर ६’लाई उज्जवल घिमिरे, ‘छ माया छपक्कै’लाई दीपेन्द्र लामा र ‘छक्का पञ्जा ४’लाई हेमराज विसीले एक्सन-कट गरे । अब दीपकराज समुह र निर्देशक दिनेश राउतबीच टिमअपको प्रयास भैरहेको छ ।
दीपकराज र निर्देशक राउतले केही चरण छलफल गरिसकेका छन् । गिरीलाई फिल्मको ‘आइडिया’ राम्रो लागेको छ । अब उनी स्क्रिप्टको ‘डेभलप’ हेर्न चाहन्छन् । त्यसपछि मात्र उनले आफ्नो निर्णय दिनेछन् । अहिले विकास सुवेदीले स्क्रिप्ट लेखिरहेका छन् । फिल्मलाई रोहित अधिकारीले निर्माण गर्नेछन् । उनले यसअघि दीपकराज समुहसँग मिलेर ‘छ माया छपक्कै’ निर्माण गरेका थिए ।
२०७६ सालमा दिनेश राउतसँग एक फिल्मका लागि रोहितले सम्झौता गरेका थिए । फिल्मका लागि अभिनयको प्रस्ताव अनमोल केसीलाई गरिएको थियो । तर, पछि विभिन्न कारणले उक्त फिल्म निर्माण हुन सकेन । अब यसै वर्ष फिल्मको छायांकन थाल्ने गरी अहिले स्क्रिप्टमा काम भैरहेको छ । स्क्रिप्टको काम सकिएपश्चात् छलफलका लागि दिनेश र रोहितले दीपकराजसँग भेट गर्नेछन् ।
यो फिल्मअघि निर्देशक राउत स्वप्न सुमन र दिक्षिता कार्कीलाई लिएर एउटा लभस्टोरी फिल्म बनाउँदैछन् । उनको पाइपलाइनमा अभिनेताद्वय आर्यन सिग्देल र प्रदीप खड्कासँगको एक बायोपिक फिल्म पनि छ । दीपकराजसँग सहकार्य भएको खण्डमा उनले आर्यन र प्रदीपसँगको फिल्म अर्को वर्ष धकेल्न सक्नेछन् । ‘प्रसाद’ र ‘प्रकाश’ले उनलाई परिपक्व निर्देशकको पहिचान दिएको छ ।

