Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जेरी : अन टप’भन्दा अघि अनमोलले नयाँ फिल्म गर्न लागेका हुन् ?

फिल्मीखबर, काठमाडौं, 2023/05/16

२७ वर्षका भए अनमोल


अभिनेता अनमोल केसीले गएको दुई वर्षको अवधिमा तीन फिल्म सम्झौता गरे । २०७८ सालमा ‘एक्स ९’, अघिल्लो वर्ष ‘जेरी : अन टप’ र अभिनेत्री पूजा शर्माको एक अनटाइटल फिल्म । तर, उनले निर्माणमा ढिलाई भएको भन्दै ‘एक्स ९’बाट हात भिकिसकेका छन् । पूजाको फिल्म पनि उनले छाडिसकेको चर्चा छ । अनमोल बैशाखबाट ‘जेरी : अन टप’को छायांकन थाल्ने तयारीमा थिए ।

तर, यो फिल्मको छायांकन तत्काल नहुने भएको छ । फिल्मको छायांकन अष्ट्रेलियाबाट सुरु गर्ने तयारीमा निर्माण टिम रहेको छ । तर, अहिले अष्ट्रेलियामा विन्टर सिजन (जाडो मौसम) भएकाले अब असार मध्यबाट फिल्मको छायांकन सुरु गरिने निर्माता सरोज न्यौपानेले फिल्मीखबरलाई जानकारी दिए । अष्ट्रेलियापछि भने फिल्मको छायांकन नेपालको हिमाली क्षेत्रमा हुने उनको भनाई छ ।

न्यौपानेले भने, ‘भिसाको समस्याले छायांकन पछाडि सरेको होइन । अहिले अष्ट्रेलियामा एकदमै जाडो छ । नेपालको पुष/माघको जस्तो छ । छायांकन गर्न नै नसकिने अवस्था भएकाले एक महिना जतिलाई पछाडि धकेलेका हौं । त्यहाँको टिमले पनि जाडो निकै भएकाले राम्रोसँग खिच्नका लागि अलि पछि आउन आग्रह गरेकाले असार १५/२० तिर छायांकनका लागि अष्ट्रेलिया जान सक्नेछौं ।’
 

Saroj Neupane

(निर्माता सरोज न्यौपाने)


‘जेरी : अन टप’को छायांकन धकेलिएपछि अनमोल नयाँ फिल्मको तयारीमा जुटेको जानकारी प्राप्त छ । सम्भवतः उनले यसै हप्ता आफ्नै एक हिट फिल्मको निर्माताको फिल्म सम्झौता गर्न सक्नेछन् । र, जेठबाटै छायांकन सुरु गर्ने गरी यसै हप्ता टिजरमार्फत फिल्मको औपचारिक घोषणा गर्ने तयारीमा निर्माण टिम रहेको छ । यो फिल्मका लागि अभिनेत्री समेत फाइनल गरिसकिएको छ ।

त्यो फिल्मपछि ‘जेरी : अन टप’को छायांकन सुरु हुने त होइन ? भन्ने प्रश्नमा निर्माता न्यौपानेले भने, ‘हामी पहिला गयौं भने उहाँहरु भदौं/असोजबाट छायांकनमा जान सक्नुहुन्छ । किनकि, त्यो फिल्मको नेपालमा नै छायांकन छ । सहमतिमै हामी मिलाउने छौं । सकभर हामी नै अगाडि छायांकनमा जान सक्छौं होला । किनकि, असारभित्रमा उहाँहरुको फिल्मको छायांकन पनि त सकिन्न ।’