
यस वर्षको सुरुवातै नेपाली फिल्मबीचको भिडन्तबाट भएको थियो । बैशाख १ गते र बैशाख १५ गते तीन/तीनवटा फिल्म एकसाथ प्रदर्शनमा आएका थिए । तर, फिल्म ‘जारी’बाहेक कसैलाई भिडन्त फाइदाजनक रहेन । जेठ महिनामा पनि नेपाली फिल्मबीच भिडन्तको सिलसिला यथावत् नै रहने देखिएको छ । जेठमा चारमध्ये तीनवटा शुक्रबार दुई/दुईवटा फिल्म भिड्ने तयारीमा छन् ।
यही शुक्रबार अर्थात् जेठ ५ गते दुई फिल्म ‘ए साथी सुन’ र ‘डाकिनी’ प्रदर्शनमा आउँदैछन् । खिन्से नोर्बु निर्देशित ‘डाकिनी’ केही सीमित मल्टीप्लेक्सहरुमा मात्र प्रदर्शनमा आउने बताइएको छ । दुवै फिल्मको टिमले प्रचारमा भने खासै चासो दिएका छैनन् । जेठ ५ गतेलाई फिल्म ‘गणपति’ले पनि प्रदर्शन मिति टुंगो गरेको थियो । तर, अब यो फिल्म निर्धारित मितिमा प्रदर्शन नहुने भएको छ ।
त्यस्तै, जेठ १२ गते फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’ र ‘टुल्की’बीच घरेलू बक्सअफिसमा भिडन्त हुँदैछ । यी दुवै फिल्म जेठ १५ गते परेको गणतन्त्र दिवसको सार्वजनिक विदालाई लक्षित गर्दै प्रदर्शनमा आउन लागेका हुन् । ट्रेलर हेर्दा दुवै फिल्मको दृश्यभाषा केही फरक हुनसक्ने देखिन्छ । ‘हुक्का’ पारिवारिक घटनाक्रममा आधारित छ भने ‘टुल्की’ले बहुपति प्रथाको कथालाई उठान गरेको छ ।
जेठ १९ गते भने नेपाली फिल्म छैन । यसअघि यो मितिमा ‘नीरफूल’ आउने निश्चित थियो । तर, अब जेठ २६ मा यो फिल्म प्रदर्शन हुने भएपछि जेठ १९ खाली हुन पुगेको हो । जेठ २६ मा भने ‘नीरफूल’सँग ‘वेलकम टु हेम्जाकोट’ भिड्दैछ । यो मितिमा ‘गणपति’ पनि प्रदर्शनमा आउने चर्चा छ । तर, यसको प्रदर्शन मिति घोषणा गरिएको छैन । यसरी हेर्दा जेठ भिडन्तको महिना बन्ने देखिन्छ ।

