नेपाली फिल्मका लागि २०७९ साल तुलनात्मक रुपमा राम्रो रह्यो । आधा दर्जन बढी फिल्म व्यावसायिक रुपमा सफल भए । २०८० सालको सुरुवात पनि सम्झनलायक नै बनेको छ । बैशाख १ गते आएको फिल्म ‘जारी’ले घरेलू बक्सअफिसमा ठूलो अंक जोडेको छ । पाँचौं हप्तामा प्रदर्शनरत फिल्मले १६ करोड ग्रस कलेक्सन गरिसकेको छ । फिल्मले प्रदर्शनको ५१औं दिन मनाउने देखिन्छ ।
‘जारी’सहित बैशाखमा ८ वटा नेपाली फिल्म प्रदर्शन भए । तर, ‘जारी’बाहेक कुनैले लगानीको एक हिस्सा पनि कमाउन सकेनन् । ‘जारी’ सँगसँगै प्रदर्शनमा आएको ‘बुलाकी’ डिजास्टर हुँदा ‘बिहे पास’ले पोस्टर छपाईको पैसा मुश्किलले उठाउन सक्यो । त्यसपछि बैशाख १५ मा प्रदर्शन भएका तीन फिल्म ‘प्रसाद २’, ‘कैदीको पत्र’ र ‘नाइँ नभन्नू ल ६’ पनि घरेलू बक्सअफिसमा दुर्घटनाग्रस्त भए ।

‘प्रसाद २’ र ‘नाइँ नभन्नू ल ६’को असफलताले फिल्मकर्मीलाई ठूलो पाठ सिकाएको छ । दुवै हिट फिल्मको सिक्वेल र सिरिज थिए । ब्रान्ड बिक्छ भन्ने भ्रममा बाँचेका फिल्मकर्मीलाई अब गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बनाएको छ । ‘प्रसाद २’ले ७५ लाख कटाएको छ । ‘नाइँ नभन्नू ल ६’को कमाई त ३० लाख पनि छैन । ब्रान्ड भन्दैमा अब दर्शकले विश्वास गर्दैनन् भन्ने यो ज्वलन्त उदाहरण हो ।
.jpg)
भदौ २१ गते प्रदर्शन भएको फिल्म ‘ज्याकी: आई एम ट्वान्टी वान’को अवस्था पनि त्यस्तै विजोगपूर्ण छ । रिलिजको नियम नै मिचेर बिहीबारबाटै प्रदर्शन भएको फिल्मले दर्शकको मन जित्न सकेन । अहिले फिल्म बक्सअफिसमा पानी बिनाको माछाझैं छटपटिएको छ । फिल्मको नेट कमाई ४४ लाख छ । लगानीको हिसाबले बैशाखमा प्रदर्शित फिल्महरुमध्ये यो सबैभन्दा ठूलो ‘डिजास्टर’ हो ।

यही शुक्रबारबाट प्रदर्शित फिल्म ‘हल्कारा’ पनि हलमा दर्शक आकर्षित गर्न चुकेको छ । चलचित्र विकास बोर्डको तथ्यांकअनुसार फिल्मले तीन दिनमा २ लाख ९८ हजार नेट कमाएको छ । यो निकै कमजोर कमाई हो । यसरी हेर्दा बैशाखमा रिलिज भएका आठ फिल्ममध्ये ‘जारी’ मात्र सफल भएको छ । बाँकी ७ फिल्ममा भएको १० करोडमाथिको लगानी ‘बालुवामा पानी’ जस्तै भएको छ ।

