Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘नम्बरी सुन’ गीतमा गौरव र नम्रताको नृत्य, दर्शकलाई सुन दिने निर्माताको घोषणा

फिल्मीखबर, काठमाडौं, 2023/05/15

आगामी भदौ १ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘नम्बरी सुन’को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच पत्रकारहरुलाई देखाउँदै सार्वजनिक गरिएको लोक शैलीको गीतमा राजेश पायल राई र शान्तिश्री परियारको युगल स्वर रहेको छ भने सन्तोष श्रेष्ठको संगीत तथा नारायण खातीको शब्द छ । गीतकार खाती फिल्मका प्रस्तुतकर्ता समेत हुन् ।

 

Gaurav Pahari, Namrata Sapkota


रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका अभिनेता गौरव पहारी र अभिनेत्री नम्रता श्रेष्ठसहित राजाराम पौडेल, बुद्धि तामाङ र विनोद न्यौपाने पनि नृत्य गर्दै देखिएका छन् । फिल्म सुनको विषयवस्तुमा बनेकाले गीतमा पनि सुनकै बढी चर्चा गरिएको छ । आकर्षक सेट तयार पारेर खिचिएको गीतमा गौरवको नृत्य कमजोर देखिन्छ । नम्रता भने नृत्यमा जमेकी छन् ।

गीतमा आफ्नो नृत्य कमजोर देखेपछि गौरवले आफू यसमा दुई कदम पछाडि रहेको बताए । ‘म नृत्यमा दुई कदम पछाडि छु । यो गीतमा मैले जति पनि नृत्य गर्न सकेको छु, त्यसमा कोरियोग्राफरको ठूलो देन छ । मेरो कमजोर नृत्यलाई नम्रताले परिपूर्ति गरेकी छन्,’ उनले भने । नम्रताले भने निर्देशक राजु गिरीमा देखेको आत्मविश्वासले आफू फिल्ममा काम गर्न सहर्ष राजी भएको बताइन् ।

फिल्ममा राजेन्द्र खड्गी, सविन बास्तोला, गीता अधिकारी लगायतको पनि अभिनय छ । प्रस्तुतकर्ता खातीकै कथा रहेको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका हुन् । सुवर्ण शिभान्स फिल्म्सको ब्यानरमा निर्माण भएको ‘नम्बरी सुन’को निर्मातामा सरोज खाती, सविन खाती र मनोज रिजाल छन् । फिल्मले सुनको चारवटा पाटोलाई देखाउने खातीले जानकारी दिए ।

फिल्ममा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, राजेश पायल राई, शान्तिश्री परियार, प्रताप दास र अनु चौधरीको स्वर, रामजी लामिछानेको नृत्य निर्देशन, समीर मियाँको भिएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन र गौतम राज खड्काको सम्पादन रहेको छ । फिल्मलाई काठमाडौँ उपत्यकामा जिजिए ग्रुप र उपत्यकाबाहिर एफडी कम्पनीले वितरण गर्नेछ ।

 

Gaurav Pahari, Namrata Sapkota


निर्देशकलाई सुन उपहार, दर्शकले पनि सुन पाउने

गीत सार्वजनिक कार्यक्रमका प्रस्तुतकर्ता नारायण खातीले निर्देशक राजु गिरीलाई खुकुरी अंकित नम्बरी सुन उपहार स्वरुप प्रदान गरे । फिल्मका लागि गरेको मिहिनेत र आफूलाई हरेक अवस्थामा साथ-सहयोग गरेको भन्दै उनले निर्देशक गिरीलाई सुन उपहार दिएका हुन् । सुन व्यवसायी समेत रहेका उनले फिल्म हेर्ने दर्शकलाई पनि सुनको सिक्री उपहार स्वरुप दिने घोषणा गरेका छन् ।

फिल्म हेर्न काटेको टिकटको फोटो ‘नम्बरी सुन’को फेसबुक पेज, भाइबर, व्हाट्सएप र इमेलमार्फत् पठाउनु पर्ने र त्यसमध्येबाट गोलाप्रथा गरी एकजनालाई एक तोलाको सुनको सिक्री प्रदान गरिने खातीले जानकारी दिए । उनले आफूले सुनको इतिहासबारे जानकारी गराउनका लागि फिल्म निर्माण गरेको बताए । फिल्म राम्रो बनेको र दर्शकलाई मनपर्नेमा उनी विश्वस्त देखिएका छन् ।