
सरोज पौडेलको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘वेलकम टु हेम्जाकोट’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । गत वर्षको कात्तिक २५ गतेलाई प्रदर्शन मिति घोषणा गरेर पनि विभिन्न कारणले पोस्टपोन्ड भएको फिल्म अब यही जेठ २६ गतेबाट प्रदर्शनमा आउन लागेको हो । आइतबार निर्माण टिमले फिल्मका प्रमुख कलाकारहरुलाई राखेर एउटा पोस्टर पनि सार्वजनिक गरेको छ ।
क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्मित यो फिल्ममा बुद्धि तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सीना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, स्व.जयनन्द लामालगायतको अभिनय छ । तेज प्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्का फिल्मको निर्माता हुन् ।
फिल्ममा समावेश आइटम डान्स ‘मायाको रेडियो’, तिहारसम्बन्धी गीत ‘सेलको बासना चलेको’ अघिल्लो वर्ष युट्युबमा सार्वजनिक भैसकेका छन् । फिल्मले २०७९ सालको मंसिरमा काठमाडौंमा सम्पन्न चौथो नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्मको अवार्ड प्राप्त गरेको थियो । कास्कीको पर्यटकीय स्थल हेम्जाकोट वरपर फिल्मको सम्पूर्ण छायांकन भएको हो ।
मिलन श्रेष्ठको एक्सन, मित्र गुरुङको सम्पादन, दिर्घ गुरुङको डीओपी, कविराज गहतराज र गम्भिर विष्टको कोरियोग्राफी, शास्वत श्रेष्ठको व्याकग्राउन्ड म्यूजिक, इन्दिरा जोशी, शान्तिश्री परियार, अस्मिता अधिकारी, राज सागर, राजन इशानको गीतमा स्वर रहेको छ । निर्देशक पौडेलले भारत, अष्ट्रेलिया, जापान लगायतका देशहरुमा फिल्मको विदेश राइट्स बिक्री भइसकेको जानकारी दिए ।

