Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

पोखरामा ‘हल्कारा’ हेर्न बस रिजर्भ गरेर गाउँ नै उर्लियो

फिल्मीखबर, काठमाडौं, 2023/05/13

जुन समय नेपाली समाज सन्देश आदान-प्रदानका लागि चिठीपत्रमा निर्भर थियो, त्यसबेलाको कथामा बनेको फिल्म हो, ‘हल्कारा’ । विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलहरुमा अवार्ड जितेकाले यो फिल्मको नेपालमा ठूलो पखाई थियो । अन्ततः त्यो पखाई अन्त्य भएको छ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मको ‘वर्ड अफ माउथ’ बलियो छ । समीक्षक र दर्शक दुवैले फिल्म निकै रुचाएका छन् ।

प्रदर्शनको पहिलो दिन अपेक्षाकृत नभएको फिल्मको व्यापार शनिबार केही सुधार देखियो । काठमाडौं र मोफसलका केही हलमा फिल्म हेर्ने दर्शकको चाप सुखद रहेको थियो । नेपाली फिल्मको दोस्रो ठूलो बजार मानिने तालनगरी पोखरामा त शनिबार फिल्म हेर्नका लागि बस रिजर्भ गरेर वृद्धवृद्धादेखि बच्चाबच्चीसम्म हल पुगेका थिए । विगत एक दशकयता यस्तो दृश्य देखिएको थिएन ।

 

halkara movie


फिल्म हेर्न कास्कीको कास्कीकोट, मालेपाटन, ढिकुरपोखरी र फुलवारीका गाउँहरुबाट बस रिजर्भ गरेर सयौंको संख्यामा पोखरा आएका थिए । उनीहरुले पोखराको ट्रेड मलमा रहेको पोखरा सिनेप्लेक्समा फिल्म हेरेका हुन् । कोही लौरोको सहारामा त कोही बच्चा बोकेर हल पुगेका थिए । फिल्मका मुख्य अभिनेता महेश त्रिपाठीले पोखराले दिएको यो मायाप्रति आभार व्यक्त गरेका छन् ।

दर्शकबाट उत्कृष्ट प्रतिक्रिया मिलेकाले आइतबारबाट फिल्मको व्यापार राम्रो हुँदै जानेमा निर्माण टिम विश्वस्त छ । फिल्मले गाउँ-गाउँमा चिठी पुर्‍याउने एक हुलाकीको माध्यमबाट ग्रामीण जीवन, वैदेशिक रोजगारीले समाजमा पारेको प्रभावलगायतका पक्षलाई देखाएको छ । विक्रम सापकोटाको निर्देशनमा तयार भएको फिल्ममा महेशसँगै बिनिता थापा मगरको मुख्य भूमिका रहेको छ ।

यो फिल्मले अमेरिकामा भएको वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेशनल फेस्टिभलमा उत्कृष्ट फिल्म, उत्कृष्ट नायक र उत्कृष्ट छायाँकारको अवार्ड प्राप्त गरेको थियो । शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, स्वर्गीय दीपक क्षेत्रीलगायतको पनि विशेष भूमिका रहेको फिल्ममा निर्देशक सापकोटाको नै लेखन तथा सम्पादन छ ।

 

तस्बिर स्रोत : परिचय डटकम