
मोबाइल र इन्टरनेटको युगभन्दा अगाडि नेपालमा चिठीबाट सन्देश आदान-प्रदान हुन्थ्यो । चिठी लिएर हुलाकी घर-घर पुग्थे । कुनै समय चिठीले नेपाली समाजमा मोबाइलको काम गरेको थियो । तर, प्रविधिको फड्कोसँगै मोबाइलको बढ्दो प्रयोगले अहिले चिठीपत्र भन्ने कुरा एकादेशको कथा जस्तो भैसकेको छ । अबको नयाँ पुस्तालाई त हुलाक र चिठीपत्र भन्ने नै थाहा नहुन सक्छ ।
शुक्रबारबाट प्रदर्शन सुरु गरेको फिल्म ‘हल्कारा’ भोलिको पुस्ताका लागि एउटा महत्त्वपूर्ण र इतिहास बुझ्ने दस्ताबेज बन्न सक्छ । किनकि, यो फिल्म चिठीको जमानाको कथामा बनेको छ । परदेशीले पठाएको चिठी लिएर गाउँ-गाउँ पुग्ने एक हुलाकीको कथामा फिल्म आधारित छ । उसले चिठी पुर्याउने क्रममा भोग्ने समस्यादेखि जीवनमा आउने आरोह-अवरोहलाई फिल्मले देखाएको छ ।
प्रदर्शनपूर्व काठमाडौंमा आयोजित प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया बटुलेको फिल्मले अघिल्लो वर्ष अमेरिकामा आयोजित वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेशनल फेस्टिभलमा महेश त्रिपाठीलाई उत्कृष्ट अभिनेता र चिन्तन राजभण्डारीलाई उत्कृष्ट सिनेमाटोग्राफी अवार्ड दिलाउनुको साथै उत्कृष्ट फिल्मको अवार्ड पनि जितेको थियो । फिल्मका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन् ।
फिल्ममा महेश त्रिपाठी र बिनिता थापा मगरको मुख्य भूमिका रहेको छ । त्यस्तै, शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, स्वर्गीय दीपक क्षेत्रीलगायतको पनि फिल्ममा अभिनय रहेको छ । कालीपार स्टुडियो निर्माण र आइसफल प्रोडक्सनको सहकार्यमा बनेको फिल्ममा महेशले हुलाकीको भूमिका निर्वाह गरेका छन् ।

