Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

आफ्नो कैदी जीवनलाई पलले उतारे म्यूजिक भिडियोमा

फिल्मीखबर, काठमाडौं, 2023/05/11

Paul Shah

 

अभिनेता पल शाहले आफूले भोगेको घटनामाथि आफ्नै निर्देशन र अभिनयमा म्यूजिक भिडियो तयार पारेका छन् । बिहीबार पल स्वयंको युट्युब च्यानलमा सार्वजनिक गरिएको ‘तिमीलाई हेर्ने बानी पर्‍यो’को फिमेल भर्सन गीतमा उनले आफ्नै कैदी जीवनदेखि रिहाईसम्मको घटना देखाएका छन् । एक घटनाका कारण पल गत वर्षको फागुन १५ गते १ वर्ष जेल जीवन विताएर फर्केका हुन् ।

भिडियोमा पलले हथकडी लगाएकोदेखि उनको रिहाइको कामना गर्दै परिवार, साथीभाई, विभिन्न धार्मिक समुदायका मानिसहरुले गरेको पूजाआजा र प्रार्थनालाई देखाइएको छ । फिल्मी शैलीमा तयार भिडियोमा पलको आमाको भूमिकामा सूर्यमाला खनाल, बुबाको भूमिकामा प्रकाश अधिकारी, बहिनीको भूमिकामा प्रिन्सु तिवारी र प्रेमिकाको भूमिकामा सनिशा भट्टराईको अभिनय छ ।

भिडियोमार्फत पलले न्यायपालिकाप्रति सम्मान व्यक्त गरेका छन् । भिडियोको अन्तिममा लेखिएको छ, ‘नेपालमा झन्डै २८ हजार कैदीबन्दी कारागारमा रहेका छन् । कोही दोषी नउम्किउन् । कोही निर्दोष नफसुन् । स्वतन्त्र न्यायपालिकाप्रति हाम्रो उच्च सम्मान ।’ जेलबाट रिहा भएपछि पलको यो पहिलो म्यूजिक भिडियो हो । यो गीतको मेल भर्सनमा पनि उनकै निर्देशन र अभिनय थियो ।

पलले करिब १० दिन लगाएर यो गीतको छायांकन सकाएका हुन् । गीतको अडियो पक्ष सुन्दर छ । भिडियोमा मिहिनेत देखिन्छ । पलले कथामा बुनेर गीत तयार पारेका छन्, जुन प्रशंसनीय छ । गीतको कमेन्टमा प्रायःले आफ्नै कथामा आधारित भएर भिडियो बनाउने आँट गरेकोमा उनको प्रशंसा गरेका छन् । यो गीतले पलको म्यूजिक भिडियोमा राम्रो कमब्याक गराउन सक्ने देखिन्छ ।