यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हल्कारा’ले प्रिमियरमा प्रशंसा कमाएको छ । बुधबार साँझ राजधानीमा भएको प्रिमियरमा उपस्थित कलाकारदेखि नेतासम्मले फिल्मको कथावस्तु, कलाकारको अभिनय आदिको खुलेर प्रशंसा गरे । प्रिमियरमा नेताहरु रघुजी पन्त, प्रदीप ज्ञवालीसँगै कलाकारहरु मुकुन भुषाल, राजन खतिवडा, मनिष राउतलगायतको उपस्थित रहेको थियो ।
.jpg)
कलाकार भुषालले नेपालमा यो लेभलको फिल्म कमै बन्ने बताउँदै आफूलाई नै काम गर्न लोभ लागेको बताए । उनले भने, ‘फिल्म भनेको निर्देशकको माध्यम हो भन्ने कुरा यो फिल्मले प्रमाणित गर्छ । फिल्म त धेरै बन्छन् तर यो लेभलको फिल्म चाहिँ कमै देख्न पाइन्छ । फिल्ममा हरेक कलाकारको अभिनय अब्बल छ । महेश त्रिपाठीले गर्नुभएको हल्कारा क्यारेक्टर मलाई नै लोभ लाग्यो ।’
.jpg)
अभिनेता राजन खतिवडाले ‘पर्फेक्ट’ फिल्म बनेको भन्दै प्रशंसा गरे । त्यस्तै, ‘प्रेमगीत ३’ फेम्ड अभिनेता मनिष राउतले ‘हल्कारा’ मनदेखि बनाइएको फिल्म बन्दै प्रशंसाको पुल बाँधे । ‘यो मनदेखि आत्माका लागि बनाइएको फिल्म हो । नेपाललाई यति राम्रो फिल्म दिनुभएकोमा टिमलाई धन्यवाद भन्न चाहन्छु । म कति ठाउँमा रोएँ अनि कति ठाउँमा हाँसेँ । फिल्म राम्रो छ,’ उनले भने ।
.jpg)
फिल्ममा प्रमुख भूमिका निर्वाह गरेका अभिनेता महेश त्रिपाठीले आफूले गरेको काम हेर्न नसक्ने भए पनि यो फिल्मको कथासँग आफू बग्न सकेको बताए । ‘फिल्ममा काम गरेको धेरै लामो समय भैसकेकाले मैले पर्दामा आफूलाई भन्दा पनि राम क्यारेक्टरलाई नै देखेँ । त्यो स्टोरीसँगै म बग्न चाहिँ सकेँ,’ महेश भन्छन्, ‘विदेशमा रुचाइएको फिल्म हो । नेपाली दर्शकलाई पनि पक्कै मनपर्छ ।’
.jpg)
अघिल्लो वर्ष ५५औँ वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा यो फिल्मले महेश त्रिपाठीलाई उत्कृष्ट अभिनेता र चिन्तन राजभण्डारीलाई उत्कृष्ट सिनेमाटोग्राफी अवार्ड दिलाउनुको साथै उत्कृष्ट फिल्मको अवार्ड पनि जितेको थियो । फिल्मले चिठ्ठी पुर्याउने एक हुलाकीको जीवनमा आउने आरोह-अवरोहलाई प्रस्तुत गरेको छ । हुलाकीको चरित्र महेशले निभाएका छन् ।
.jpg)
कालीपार स्टुडियो निर्माण र आइसफल प्रोडक्सनको सहकार्यमा बनेको फिल्ममा महेशका साथै बिनिता थापा मगरको पनि प्रमुख भूमिका छ । फिल्मका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन् । फिल्ममा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, स्वर्गीय दीपक क्षेत्रीलगायतको पनि अभिनय रहेको छ ।

