.jpg)
फिल्म निर्माणमा सफल मानिएका सुनिल कुमार थापाले आफ्नो नयाँ फिल्म ‘भगवत् गीता’लाई आगामी भदौ २९ गते प्रदर्शन गर्ने भएका छन् । यसअघि कृष्ण अष्टमीको अवसरमा फिल्म रिलिज गर्ने उनको योजना थियो । तर, भदौ २१ मा बलिउड सुपरस्टार शाहरुख खान अभिनीत फिल्म ‘जवान’ प्रदर्शन हुने भएपछि निर्माता थापाले तीजलाई लक्षित गरेर फिल्म प्रदर्शन गर्न लागेका हुन् ।
निर्माता थापाले भने, ‘फिल्म रिलिजका लागि भदौ २९ नै उचित लाग्यो । फिल्मको केही प्रतिशत छायांकन बाँकी भएकाले अबको केही दिनमा सुरु गर्नेछौं ।’ जेठ पहिलो साता फिल्मको टिजर सार्वजनिक गरिने उनले बताए । फिल्ममा अभिनेता धीरज मगर र अभिनेत्री सुहाना थापाको जोडी बाँधिएको छ । दुवैले पहिलो पटक एकसाथ काम गरेकाले दर्शकहरुमा फिल्मको ठूलो पखाई छ ।
फिल्ममा अभिनेता विपिन कार्कीको पनि मुख्य भूमिका छ । यही महिना प्रदर्शन भएको विपिनको ‘प्रसाद २’ र धीरजको ‘ज्याकीः आई एम ट्वान्टी वान’ असफल भएकाले ‘भगवत् गीता’ टिम ठूलो दबाबमा रहेको विश्लेषण भैरहेको छ । तर, निर्माता थापा फिल्मले कलाकार चलाउने भएकाले आफूहरु कुनै खालको दबाबमा नरहेको र फिल्म बलियो भएकाले राम्रो चल्नेमा विश्वास व्यक्त गर्छन् ।
अभिनेत्री झरना थापाको निर्देशनमा बनेको फिल्ममा विपिन अहिलेसम्मकै भिन्न चरित्रमा प्रस्तुत हुने बताइएको छ । कबीर खड्का, अनुराग कुँवर, जेबिन-जेबिशको पनि अभिनय रहेको फिल्मलाई संजय लामाले छायांकन गरेका हुन् । सुहाना इन्टरटेनमेन्टको प्रस्तुति र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्मले अन्तरजातीय प्रेमकथालाई उठाएको जानकारीमा छ ।

