सुपरहिट फिल्मको सिक्वेल वा सिरिजलाई ब्रान्डको संज्ञा दिइन्छ । फिल्म व्यवसायमा ब्रान्डको आफ्नै महत्व छ । नाम ब्रान्ड भएको फिल्मलाई पैसा फल्ने बोट भन्ने गरिन्छ । यसैले त हरेक वर्ष नयाँ नाममा भन्दा सिक्वेल र सिरिज फिल्मको निर्माण बढी हुन्छ । तर, यस वर्ष प्रदर्शनमा आएका दुईटा फिल्म ‘प्रसाद २’ र ‘नाईं नभन्नू ल ६’को व्यापार अंकले अब ब्रान्ड बिक्छ भन्ने भ्रम तोडिएको छ ।
नेपालमा सबैभन्दा धेरै सिरिज निर्माण हुने फिल्ममा पर्छ, ‘नाईं नभन्नू ल’ । यसका अघिल्ला पाँच श्रृंखलाले राम्रो कमाई गरेका थिए । तर, छैटौं श्रृंखला हलमा एक हप्ता पनि टिक्न सकेन । यसअघि हलबाट लाखौं रुपैयाँ शेयर बुझेका निर्माताको हातमा यसपटक ५ लाख मुश्किलले पर्ने देखिन्छ । फिल्मको कमाई ३० लाख पनि छैन । र, यो ‘नाईं नभन्नू ल’कै सबैभन्दा विजोग सिरिज बनेको छ ।
यही फिल्मको चौंथो श्रृंखलाबाट आँचल शर्माले अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । डेब्यू फिल्म नै सफल हुँदा उनको करिअर चम्कियो । तर, जुन फिल्मले उनको करिअर उठायो, त्यसैको सिरिजले फ्लपको ट्याग भिराइदिएको छ । सफलताको लोभमा उनी ‘नाईं नभन्नू ल ६’मा जोडिएकी थिइन् । तर, सफलता त टाढाको कुरा, उनको करिअरकै सबैभन्दा ‘सुपरफ्लप’ फिल्म बनेको छ ।
बरु, आँचलले विश्वासै नगरेको फिल्म ‘झिँगेदाउ’ गत वर्ष बक्सअफिस सफल भयो । यसले उनको करिअरलाई ठूलो राहत दिएको थियो । तर, जुन फिल्मप्रति उनलाई पूरा विश्वास थियो, त्यसले भने ठूलो झड्का दिएको छ । यसैको पीडा भुलाउन हुनसक्छ, एक साथीसँग उनी अहिले सिंगापुर घुमफिरमा व्यस्त छिन् । हुन पनि उनलाई ‘नाईं नभन्नू ल ६’ले दिएको पीडा सानोतिनो कहाँ छ र !
फिल्म असफल भए पनि कति कलाकारको अभिनयको प्रशंसा हुन्छ । आँचलको त यो पनि भएन । फिल्ममा उनको चरित्र बलियो थियो । तर, उनले अभिनयमा भन्दा पहिरन परिवर्तनमा बढी मिहिनेत गरेकी थिइन् । बच्चाको स्वभावमा गर्नुपर्ने अभिनयमा उनी निकै कमजोर देखिएकी थिइन् । यसैले ‘नाईं नभन्नू ल ६’ आँचलको करिअरको नै विर्सनलायक फिल्म हो भन्दा गलत नहोला कि !

