
अभिनेत्री श्रद्धा प्रसाईं विवाह बन्धनमा बाँधिएकी छन् । उनले प्रेमी विक्की अग्रवालसँग लगनगाँठो कसेकी हुन् । विवाहपूर्व उनीहरु २ वर्षदेखि प्रेम सम्बन्धमा थिए । बुधबार आर्मी अफिसर्स क्लबमा भैरहेको विवाह समारोहमा ‘कमेडी क्लब’का कलाकारहरुदेखि शोकी अध्यक्ष दीपाश्री निरौलासम्मको उपस्थिति छ । श्रद्धा र विक्कीले बुधबार साँझ नै रिसेप्सन पार्टीको आयोजना गरेका छन् ।
पछिल्लो समय श्रद्धा र विक्की ‘कमेडी क्लब’मा आबद्ध छन् । विक्की यो शोका निर्देशक हुन् भने श्रद्धा चिफ असिस्टेन्ट डिरेक्टर हुन् । यसअघि उनीहरुले हाल बन्द रहेको ‘आम्मा कसम याँ दुख्छ’ नामक कमेडी शोमा पनि एकसाथ काम गरेका थिए । विक्की कमेडियन समेत हुन् । ‘कमेडी च्याम्पियन २’मा उनको कमेडी शैली रुचाइएको थियो । उनको जन्मथलो भारतको सिक्किम हो ।
त्यस्तै, श्रद्धाले केही फिल्म र म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छन् । उनले फिल्म ‘प्रेमगीत २’मा सन्तोष सेनको प्रेमिकाको भूमिका निभाएकी थिइन् । रोल सानो भएकाले उनलाई कमै दर्शकले ‘नोटिस’ गरे । उनले फिल्म ‘दर्पण छायाँ २’मा भने महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । यसपछि उनी फिल्म अभिनयमा निस्क्रिय जस्तै छिन् । श्रद्धामा निर्देशनतिर बढी रुचि देखिएको छ ।

