नेपालकै धनाड्य र सफल ब्यानर मानिन्छ, आइकोर फिल्म्स । मेकिङमा पैसाको खोलो बगाउने ब्यानर हो यो । ‘मेरो एउटा साथी छ’ र ‘इन्टु मिन्टु लण्डनमा’ले यो प्रमाणित गर्छ । बैशाख २१ गतेबाट प्रदर्शनमा आएको यही ब्यानरको नयाँ फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’मा पनि मेकिङमा ‘कम्प्रमाइज’ देखिन्न । तर, यो फिल्मले आइकोर फिल्म्सको साख जोगाउन असमर्थ भएको छ ।
रिलिजपूर्व राम्रो हाइप बनाएको फिल्मले घरेलू बजारबाट लगानीको एक तिहाई उठाउन पनि संघर्ष गर्नुपरेको छ । चलचित्र विकास बोर्डको बक्सअफिस तथ्यांकअनुसार फिल्मले प्रदर्शनको पाँच दिन (बिहीबारदेखि सोमबारसम्म)मा जम्मा ४२ लाख ग्रस कलेक्सन गरेको छ । ‘ज्याकी’को लगानीको तुलनामा यो अंक ‘डिजास्टर’ हो । फिल्मले पहिलो साता ५० लाख मुश्किलले जोड्ने देखिन्छ ।
मल्टीप्लेक्सहरुले दिनहुँ फिल्मको शोजमा कटौती गरिरहेका छन् । नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले बुधबार (भोलि)का लागि उपलब्ध गराएको शोज संख्या हेर्दा फिल्मलाई एक हप्ता हलमा टिक्न पनि ठूलो संघर्ष गर्नुपर्ने देखिन्छ । यसको स्पष्ट अर्थ हो, फिल्म हेर्न दर्शकले रुचि नै देखाएका छैनन् । बरु, चौंथो हप्तामा पनि फिल्म ‘जारी’मा दर्शकको राम्रो उपस्थिति छ ।

फिल्मको व्यापार नाजुक भएपछि निर्देशक र कलाकारहरुले मिडिया गुहार्न थालेका छन् । सोमबार निर्देशक रेनाशा वान्तवा राई, अभिनेता धीरज मगर र अभिनेत्री जसिता गुरुङले केही युट्युबमा अन्तर्वार्ता दिँदै फिल्म राम्रोसँग नचलेको भन्दै विलौना गरेका छन् । केही अन्तर्वार्तामा त धीरज र जसिताले गहभरी आँशु समेत पारे । कतिपयले यसलाई फिल्म चलाउने फण्डा भन्न थालेका छन् ।
त्यसो त फिल्म चलाउनका लागि आँशुको व्यापार गर्ने होडबाजी छ । यसअघि पनि धेरै नायक-नायिकाहरुले फिल्म प्रदर्शन अगाडि होस् वा पछि, दर्शकलाई ‘इमोसनल ब्ल्याकमेल’ गर्न मिडियासामु बलिन्द्र धारा आँशु बगाएका छन् । धीरज र जसिताले पनि फिल्म चलाउन यो रणनीति अपनाएका हुन् वा फिल्ममा गरेको मिहिनेत सम्झिएर भावुक भएका हुन्, त्यो त उनीहरुलाई नै थाहा होला ।
फिल्मले दर्शकको ठूलो भीड हलसम्म तान्न नसक्नुको एउटा कारण ‘वर्ड अफ माउथ’ मिश्रित आउनुलाई मानिएको छ । नृत्यप्रति अगाध रुचि हुनेहरुले फिल्म रुचाएका छन् । तर, अन्य दर्शकले नृत्यमा मात्र जोड दिँदा फिल्म कथामा कमजोर बनेको टिप्पणी गरेका छन् । फिल्मको टिमले क्लाइमेक्स समेत परिवर्तन गरिसकेको छ । तर पनि हलमा फिल्म हेर्ने दर्शक बढ्न सकेका छैनन् ।
समीक्षा राम्रो नआउनुले पनि फिल्मप्रति दर्शकको रुचि हराएको हुनसक्ने बुझाई कतिपयको छ । किनकि समीक्षामार्फत् पनि हल जाने दर्शकको सानै भए पनि एउटा जमात छ । ती दर्शकलाई खराब समीक्षाले पैसा खर्च गर्नबाट रोकेको छ । तर, समीक्षा राम्रो नआएका धेरै नेपाली फिल्मले राम्रो कमाएका उदाहरण पनि छन् । ‘ज्याकी’ भने बक्सअफिसमा तम तोड्ने अवस्थामा पुगेको छ ।

