Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘हुक्का’मा महिला चरित्र ‘हिरो’ हो : तेज गिरी

फिल्मीखबर, काठमाडौं, 2023/05/08

अघिल्लो वर्ष प्रदर्शनमा आएको फिल्म ‘प्रेमगन्ज’मा अभिनेत्री बेनिशा हमालपछि अभिनयको प्रशंसा कमाएका कलाकार हुन्, तेज गिरी । पेशाले उनी बैंकर्स हुन् तर रुचि अभिनयमा छ । यसैले उनले दुई डुंगामा खुट्टा राखेर एकसाथ यात्रा गरिरहेका छन् । र, दुवै पेशामा सन्तुष्ट छन् उनी । उनले ‘काले’, ‘धौली’, ‘पञ्चेबाजा’, ‘लभ लभ लभ’, ‘गोपी’ लगायतका फिल्ममा अभिनय गरिसकेका छन् ।

अब उनको नयाँ फिल्म ‘हुक्काः एन एब्जर्ड ड्रिम्स’ आगामी जेठ १२ गतेबाट प्रदर्शन हुँदैछ । फिल्ममा आफू ‘ट्वीस्ट’ ल्याउने चरित्रमा रहेको उनको भनाई छ । उनी भन्छन्, ‘फिल्ममा मेरो अलिक फरक खालको चरित्रमा छ । म पूर्ण सकारात्मक र पूर्ण नकारात्मक भन्दा पनि अलिक मध्यम किसिमको चरित्रमा देखिएको छु । फिल्मको कथामा ‘ट्वीस्ट’ ल्याउने पात्रको भूमिका निर्वाह गरेको छु ।’

 

tej giri


पश्चिम क्षेत्रको माटो, हावापानीसँगै पोखरा आसपासको भाषालाई फिल्ममा अत्यन्त सुन्दर ढंगले प्रस्तुत गरिएको तेजको जिकिर छ । फिल्मले हुक्काको परिभाषालाई फेरेको बताउँदै उनी भन्छन्, ‘फिल्मले पुर्खाले प्रयोग गर्ने हुक्कालाई देखाएको छ । हुक्काको परापूर्वकालमा छुट्टै महत्व थियो । कुनै पनि वस्तुको लतले मान्छेलाई के-केसम्म गर्न लगाउँछ भन्ने फिल्मले देखाउन खोजेको छ ।’

हुक्कालाई प्रतिकात्मक रुपमा प्रयोग गरेर कथा भनिएको उनको कथन छ । ‘हुक्का प्रतिष्ठासँग जोडिएको कुरा हो । त्यसमा प्रेम वा धोका जे पनि हुनसक्छ । त्यो लतले मानिसलाई कहाँसम्म पुर्‍याउँछ भन्ने कुरालाई फिल्मले उठाएको छ,’ उनले प्रस्ट्याए । फिल्मले महिला चरित्रलाई हिरोको रुपमा प्रस्तुत गरेको र फिल्मको कथाले नेपाली समाजलाई अपनत्व महसुस गराउने उनको विश्वास छ ।

शम्भु थापाद्वारा निर्देशित फिल्ममा तेजका साथै प्रमिला खनाल, सन्तोषकुमार आत्रेय, प्रकाश घिमिरे, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिशा विकको अभिनय छ । रेश्मा प्रधान सह-निर्माता, पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता छन् । यो फिल्मको पोखरामा छायांकन भएको हो ।